बर्दिया,फागुन २५(फरकसमाचार)/ नेपालमै पहिलो पटक खोखो लिग (ड्रिम खोखो) २०८१ बर्दियाको ठाकुरबाबा नगरपालिकामा हुँदैछ । खेलकुद परिषद लुम्बिनी प्रदेशको प्रवद्र्धन, ठाकुरबाबा नगरपालिकाको मुख्य प्रवद्र्धन, लुम्बिनी प्रदेश खोखो संघको व्यवस्थापक र नेपाल खोखो संघको आयोजनामा खोखो लिग हुँदैछ । आगामी चैत २३ देखि ३० गतेसम्म खोखो लिगको आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन गरि आयोजकले जनाएको हो ।
खेलकुद क्षेत्रको इतिहासमा २३ वटा देशको सहभागिता रहेको भारतको दिल्लीमा भएको विश्वकपमा नेपालले खोखो खेलमा उपविजेता भएको थियो । खोखो खेलको व्यवसायीक विकासको लागि लिग चरणको खेलको जरुरी रहेको हुँदा नेपालमा पहिलो पटक खोखो लिगको आयोजना गरिएको नेपाल खोखो संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले बताए । ‘लिग चरणको खेलबाट खोखो खेलको विकास र विस्तार गरि खेलाडीलाई आकर्षित गर्न खोजेका छौं,’वरिष्ठ उपाध्यक्ष शाहीले भने,‘खोखो खेलबाट खेलाडीहरुको व्यवसायीक भविष्य सुनिश्चित देखिन्छ ।’ विश्वकपमा लुम्बिनी प्रदेशबाट जम्मा १५ जना सहभागि खेलाडीमा १२ जना खेलाडी बर्दिया ठाकुरबाबा नगरपालिकाको रहेको सुनाए ।
नेपाल खोखो खेलमा उपविजेता भएदेखि खेलाडीलाई विभिन्न देशबाट निरन्तर अवसर आईरहेकोसमेत सुनाए । खोखो लिग खेलको लागि हालसम्म ३० जना खेलाडी दर्ता भईसकेको वरिष्ठ उपाध्यक्ष शाहीले बताए । ‘लिगको अनुमानित खर्च रु ३५ लाख छ,’वरिष्ठ उपाध्यक्ष शाहीले भने,‘पुरस्कारको लागि छलफल भईरहेको छ, राम्रै पुरस्कारले टिमलाई पुरस्कृत गर्ने तयारी छ ।’
नेपालको पहिलो खोखो कभर्डहल ठाकुरबाबा नगरपालिकामा खोखो लिग हुने जनाईएको छ । उक्त लिगमा ६ वटा पुरुष टिम सहभागिता गराउने र महिला टिम तर्फ प्रदर्शन खेल संचालन गरिने आयोजकको भनाई छ । बिहान ७ बजेदेखि राती ८ बजेसम्म खेल संचालन हुनेछ । बिच बिचमा खोखो आइडल सामुहिक नृत्य प्रतियोगिता समावेश गराईनेछ ।
प्रत्येक टिममा एक अन्तर्राष्ट्रिय, दुई राष्ट्रिय, तीन प्रदेश र ६ जना जिल्ला स्तर खेलमा सहभागी भईसकेका खेलाडीलाई समावेश गरि टिमलाई पुर्णता दिईनेछ । एक टिममा एक प्रशिक्षक र एक व्यवस्थापक रहने अन्य आवश्यकता अनुसार टिम होस्टले थप गर्न सक्ने जनाईएको छ ।
खोखो लिग खेल अवलोकनकर्ताको लागि टिकटको व्यवस्था गरिएको खोखो संघ लुम्बिनी प्रदेशका महासचिव खगेन्द्र शाहीले बताए । ‘लिग अवधिभरको लागि प्रतिव्यक्ति रु एक हजार लाग्नेछ भने एक दिनको रु दुई सय लाग्नेछ,’महासचिव शाहीले भने,‘त्यसैगरि विद्यार्थीको लागि छुटको व्यवस्था गरिएको छ ।’ खोखो लिग भव्य र सभ्य रुपमा सफल बनाउन सरोकारवालासंग व्यापक रुपमा छलफल भईरहेको छ ।’ तिव्र रुपमा तयारी अघि बढेको छ । खोखो लिगलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सघाँउन महासचिव शाहीले आग्रहसमेत गरेका छन् ।
खोखो लिगलाई सफल बनाउन संचारकर्मीहरुको साथमा साथ रहने नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले प्रतिवद्धता जनाएका छन् ।