काठमाडौं,फागुन २९/ जनगणतन्त्र स्थापना गर्न सबै अग्रगामी र क्रान्तिकारी शाक्तिहरुलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जोडदार आह्वान गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधबार प्रेस विज्ञप्ती जारी गरि यस्तो आह्वान गरेको हो ।
नेपालको तात्कालिक राजनीतिक अवस्था र आगामि दिशाबारे पार्टीको धारणा जारी गरिएको विज्ञप्तीमार्फत सार्वजनिक गरिएको छ ।
नेपालमा झण्डै २ सय ४० वर्षदेखि शासन गर्दै आएको राजतन्त्रको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि पनि जीवनमा नेपाली जनताले कुनै खास परिवर्तनको अनुभूति नभएको जारी विज्ञप्तीमा उल्लेख छ । यो व्यवस्थाको विरोधमा जनअसन्तोष र जनआक्रोश चुलिंदै गएको छ । जनता यसको विकल्पको खोजिमा छन् ।
फागुन ७ गते पूर्व राजा ज्ञानेन्द्रले आफूले राष्ट्रको लागि त्याग गरेको, आवश्यकता परे अझै त्याग गर्न तयार रहेको र त्यसको निम्ति आफूलाई साथदिन जनतालाई आह्वान गर्दछु भन्ने एउटा भिडियो वक्तव्य गरे । फागुन २५ गते पोखराबाट फर्कने क्रममा काठमाडौं विमानस्थलमा अवतरण गरेपछि उनलाई स्वागत गर्ने नाममा उल्लेखनीय भिड देखा प¥यो । उक्त भिडले “’राजा आउ देश बचाउ“, “लोकतान्त्रिक गणतन्त्र मूर्दावाद“ जस्ता नारा लगाएर राजावादीहरूले प्रदर्शन गरेपछि नेपालको राजनीति तरंगित भएको छ । यसले नेपालको लागि उपयुक्त व्यवस्था कुन हो त ? भन्ने प्रश्न खडा गरेको छ । यो प्रश्नको सही जवाफ खोज्ने उपयुक्त समय आएको छ ।
नेपालमा तीन अलग प्रकृतिका राजनीतिक शक्तिहरू छन् । ती हुन् अग्रगामी, यथास्थितिवादी र पश्चगामी । पहिलोमा नेपालमा जनगणतन्त्रको स्थापना गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादलाई आफ्नो लक्ष्य मान्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल लगायतका कम्युनिस्ट पार्टी तथा सङ्गठनहरू, दोस्रोमा लोकतान्त्रिक गणतन्त्रलाई अभीष्ट मान्ने नेकपा(माओवादी केन्द्र),नेकपा (एमाले) र नेपाली कांग्रेस लगायतका संसदवादी पार्टीहरू र तेस्रोमा सङ्ग्रहालयमा थन्क्याइसकिएको राजतन्त्रलाई फेरि फर्काउन चाहने राप्रपा लगायतका राजावादी सङ्गठनहरू पर्दछन् ।
राज्य सञ्चालन, स्रोत दोहन र संसदमा संख्याको दृष्टिले यतिखेरको अवस्थामा यवास्थितिवादी शक्तिहरू बलिया जस्ता देखिएका छन् ।
राजाबादीका तुलनामा यिनीहरू एक कदम अगाडि हुन्, तर जनगणतन्त्रको तुलनामा यी पश्चगामी नै हुन् । यो शक्तिले प्रतिक्रियावादी वर्गको नै प्रतिनिधित्व गर्ने भएकोले यसले नेपाली समाजलाई रूपान्तरण गर्न सक्दैन । बर्तमान अवस्थामा नेपाली राजनीतिमा यी तीन धारहरू रहेको यथार्थलाई बुझ्नु, बुझाउनु र तदनुसार अग्रगामी परिवर्तनका लागि आवाज उठाउनु आजको आवश्यकता हो ।
राजावादीहरूको विरोध जुलुसमा ज्ञानेन्द्र शाहको फोटोको समकक्षमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन गरिएको घटनाले उनीहरुको नक्कली राष्ट्रवादको पर्दाफास गरेको छ । २४० वर्ष लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य कुनै लहडमा होइन ऐतिहासिक आवश्यकताले भएको हो । त्यसकारण यो उल्टिन सक्दैन ।
जहाँसम्म लोकतान्त्रिक गणतन्त्रको कुरा हो त्यसले नेपालमा विद्यमान समस्याको समाधान गर्न सक्दैन भन्ने कुरा गत दुई दशकका घटनाक्रमले राम्रोसँग पुष्टि गरिसकेको छ । लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।