रक्तदान नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो । त्यसैले रक्तदानलाई महादान भनिन्छ । बिरामीहरूका लागि रगतको अभाव हुन नदिन हरेक व्यक्तिले, सामाजिक संघसंस्थाले, रेडक्रससँग सहकार्य गरेर हरेक तीन तीन महिनामा रगत दिने बानीको विकास गर्नुपर्छ । यसो हुन सकेमा रगतको अभावमा छटपटाइरहेका बिरामीहरूको लागि रगतको अभाव झेल्नुपर्ने अवस्था आउँदैन ।
नेपालको इतिहासलाई हेर्दा बिसं २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजेवी दयावीर सिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् । सिकल सेल, थालिसेमिया, रक्त क्यान्सर, रक्त अल्पताजस्ता समस्यामा भएका बिरामीहरूलाई नियमित रगत चाहिरहन्छ । अकस्मत दुर्घटना भएका, डेलिभरी केस, मुटु लगायत विभिन्न अपरेसनमा रगतको आवश्यकता पर्दछ ।
रक्तदान गर्नका लागि चिकित्सकले ब्लड प्रेशर तौल अन्य स्वास्थ्य अवस्था जाँच गर्छन् । यसरी जाँच गरिसकेपछि सबै कुरा ठिक भएपछि मात्र रक्तदान गर्ने अनुमति प्राप्त गर्न सकिन्छ । सामान्यतया १८ देखि ६५ वर्षसम्मका कुनै पनि स्वस्थ व्यक्तिले वर्षमा तीन वा चार पटक सम्म रक्तदान गर्न सक्छन् ।
कस्ता मानिसहरुले रक्तदान गर्न सक्छन ?
शरीरको रक्तचाप सामान्य अवस्थामा रहेका, १८ वर्षदेखि ६५ बर्षसम्मका महिला पुरुष, शरीरको तौल ४५ केजीसम्म भएका व्यक्ति, सरुवा रोगहरु जस्तै एचआईभी, हेपाटाइटिस् बि, हेपाटाइटिस सि, सिफलिस, मलेरिया रोग र रगतबाट सरुवा हुने अन्य रोगहरु नभएका स्वास्थ्य मानिसहरुले रक्तदान गर्न सक्दछन् ।
सामान्यत निम्न अवस्थामा रक्तदान गर्न सकिँदैन ।
मुटु रोगीहरू गर्भवती महिला महिनावारी भएको समय क्यान्सर रोग लागेर उपचार गरिरहेका व्यक्ति दीर्घकालीन औषधि सेवन गरिरहेका व्यक्ति बच्चालाई दुध चुसाउने महिला सरुवा रोग लागेका बिरामीहरू रगत कम भएका व्यक्तिहरूले रक्तदान गर्न सक्दैन ।
रक्तदान गर्ने व्यक्तिहरूले रक्तदान गर्नु पूर्व र रक्तदान गरिसकेपछि केही कुरामा ध्यान दिन जरुरी छ । रक्तदान गर्नु पूर्व हल्का झोलिलो खानाहरू खाने रक्तदान गरिसकेपछि झोलिलो चिज र पोषणयुक्त चिजहरु खाने चार पाँच घण्टासम्म गरुङ्गो चिजहरू नउठाउने र कडा परिश्रमहरु नगर्ने रक्तदान सम्बन्धमा हाम्रा केही परम्परागत र गलत धारणाहरू समेत रहेका छन् । रक्तदान गर्दा कमजोरी भइन्छ दाँत छिटो झर्छ बिरामी भइन्छ आफूलाई रगतको अभाव हुन्छ ।
आँखा कमजोर हुन्छ रोगहरू सर्छ । प्रेसर घटबट हुन्छ लामो समयसम्म शरीरमा दुखाइरहन्छ भन्ने खालका गलत धारणाहरू रहिरहेका छन् । के यस्तो सोचाइ राख्नेलाई भोलि रगतको आवश्यकता नपर्ला त । यस्ता परम्परागत गलत धारणाहरू अनावश्यक रूपमा सिर्जना गरिएका भ्रमहरू मात्र हुन । रक्तदान गर्दाका फाइदाहरु केही सकारात्मक फाइदा समेत रहेका छन् । रक्तदान गर्दा रक्तसञ्चारको विकास भई शरीरको सम्पूर्ण अङ्गहरुलाई सन्तुलित राख्न सहयोग पुग्छ । शरीरको तौललाई सन्तुलित गर्दछ । लिभर क्यान्सरको जोखिमहरु कम हुन्छ । रक्तचापलाई सन्तुलित राख्दछ । रक्तदान गर्न पाएकोमा शरीर र मनमा सकारात्मक भावको पैदा हुन्छ ।
यतिबेला म बर्दियाको रक्तदानको अवस्थालाई केही कुराहरु औल्याउन खोजिरहेको छु । बर्दिया जिल्लामा २०४४ सालमा बर्दिया जिल्ला अस्पतालको हातामा लारी रक्तसञ्चार केन्द्रको भवन निर्माण भएको थियो । लामो समय त्यहाँ रक्तदान सम्बन्धी कुनै कार्यक्रमहरु भएनन् । २०५९ सालमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाको मातहतमा रहनेगरी रक्तसंचार केन्द्रको स्थापना भएको थियो । अहिले बर्दिया जिल्ला अस्पताल लगायत अन्य ठाउँहरूमा रगतको आवश्यकता पर्दा सोही लारी रक्तसंचार केन्द्रबाट रगतको आपूर्ति गर्ने गरिन्छ । जनसंख्याको वृद्धि, रोगीहरूको संख्यामा वृद्धि हुने, विभिन्न घटना दुर्घटनाहरू भइरहने र अस्पतालहरूको पनि क्षमता विकास भएको कारणले यतिबेला रगतको माग दिनानुदिन बढ्दै गइरहेको छ । विशेषत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको केही जिल्लाको केन्द्रबिन्दु रहेको नेपालगञ्ज सरकारी तथा गैरसरकारी अस्पतालहरूको संख्या वृद्धि भइरहेको छ । त्यहाँ पनि रगतको माग अत्यन्तै बढ्दै गइरहेको अवस्था छ ।
रगतको अभावबाट कसैको पनि ज्यान नजाओस् भन्ने भावनालाई आत्मसात गर्दै केही रक्तदाता केही समाजसेवीहरूको उपस्थितिमा २०७८ साल असोज १६ गते नेपाल स्वयंसेवी रक्तदाता समाज समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यज्यूको उपस्थितिमा बर्दिया पनि रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गठन भएको छ । पछिल्लो जिल्ला कार्यसमितिमा अध्यक्ष प्रेम प्रसाद लम्साल, उपाध्यक्ष सन्तोष बास्तोला, सचिवमा श्यामलाल थारु कोषाध्यक्षमा उमाकुमारी मल्ल, सदस्यहरूमा शिशिर शर्मा शङ्कर थारु, महेमुद अलि मनियार, चल्टुराम थारु, रबिन परियार, रामबाबु सुवेदी, गणेश बिष्ट, प्रकाश नेपाल, र मदन भण्डारी प्रतिनिधित्व रहने गरी १३ जनाको समिति रहेको जिल्ला शाखा विस्तारित छ । यस समाज आफैंले रक्तदान शिविरको आयोजना नगरेर नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेका रक्त सञ्चार केन्द्र र अन्य दाताहरूको उपस्थितिमा रक्तदान शिविरहरूमा रक्तदाताहरूलाई उपस्थित गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएको छ ।
यो सँगसँगै यस समाजले अस्पतालमा भर्ना भएर रगतको अभाव भएका बिरामीहरूको लागि रगत खोज्ने कार्यमा समेत सहयोगी भूमिका निभाउँदै आएको छ ।
समन्वय, सहकार्य गर्दै आए पनि आफूसँग आर्थिक अभाव भएको कारणले यस समाजले आशा राखे अनुरुप रक्त संकलन गर्न सकिरहेको छैन । तथापि बर्दिया जिल्लामा हेर्दाखेरि रक्तदानको कार्यमा ठाकुरबाबा नगरपालिकाको निकै महत्त्वपूर्ण भूमिका रहेको छ । ठाकुरबाबा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा नै रक्तदान सम्बन्धी शीर्षकमा बजेट विनियोजन गरी वर्षको कम्तीमा तीनपटक रक्तदान शिविर सञ्चालन गर्ने गरी कार्यक्रमको व्यवस्थापन नै गरेको छ । यसैगरी राजापुर नगरपालिका बारबर्दिया नगरपालिकामा पनि नियमित रूपमा रक्तदान शिविर सञ्चालन हुँदै आएका छन् ।
यी बाहेक बढैयाताल गाउँपालिका बाँसगढी नगरपालिका गुलरिया नगरपालिका मधुबन नगरपालिका गेरुवा गाउँपालिकाले पनि समयनुकूल वर्षको एक दुईपटक रक्तदान शिविरहरू सञ्चालन गर्दै आएका छन् । बर्दिया जिल्ला विशेषगरी थारु बाहुल्य भएको जिल्ला हो । थारु जातिहरूमा मात्र देखिएको सिकलसेल र फालिस मिया बिरामीहरूको लागि नियमित रुपमा रगतको आवश्यकता पर्ने गर्दछ । यसैलाई मध्यनजर गर्दै मधुबन नगरपालिका राजापुर नगरपालिका र बारबर्दिया नगरपालिकाले रक्त सङ्कलन केन्द्रको स्थापना गरी बिरामीहरूका लागि रगत उपलब्ध गराउँदै आएका छन् । यी राजापुर मधुबन बारबर्दियाले आफ्ना स्थानीय स्वास्थ्य संस्थाहरू मार्फत त्यस्ता बिरामीहरूका लागि रक्त सेवा प्रवाह गर्दै आएका छन् ।
स्थानीय सरकार सितको अपेक्षा
बर्दियामा रहेका आठ वटा स्थानीय तहहरूले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेटमा रक्तदान कार्यक्रमलाई समेत समावेश गर्न जरुरी छ । प्रत्येक पालिकाहरूले विभिन्न अवसरहरुमा तीज पर्व माघी पर्व नयाँ वर्ष पालिका स्थापना दिवस र अन्य स्थानीय संघ संस्था सहकारी प्याप्सन एनप्याप्सन विभिन्न विद्यालयहरूको स्वर्ण महोत्सव जस्ता सार्वजनिक कार्यक्रम र अवसरहरूमा समेत रक्तदान कार्यक्रमको आयोजना गरी रगत अभावलाई परिपूर्ति गर्न सकिन्छ ।
साँच्ची नै भन्ने हो भने प्रत्येक पालिकामा रहेको स्वास्थ्य शाखामा एकजना कर्मचारीलाई रक्तदान कार्यक्रमका लागि फोकल पर्सन तोकेर रक्तदान शिविरहरूको आयोजना गर्ने नेपाल स्वयंसेवि रक्तदाता समाजसित समन्वय गर्दै रक्तदाताहरूको विवरण अध्यावधिक गरिराख्न जरुरी भइसकेको छ । कसलाई कतिबेला कहाँ रगतको आवश्यकता पर्छ भन्न सकिँदैन ।
कहिलेकाहीँ अबेर राति फोनमा भोलि बिहान ८ बजे अप्रेसन छ रगत खोजदिनु पर्यो सर भनेर फोनहरु आउने गरेका समाजका विभिन्न सदस्यले बताउने गर्नुहुन्छ । बिरामीको संवेदनशीलतालाई मध्यनजर गर्दै अबका दिनहरूमा रगत अभाव हुँदा सम्बन्धित पालिकाको जनताले सम्बन्धित पालिकाको स्वास्थ्य शाखा मार्फत रक्तदान गर्ने व्यक्ति उपलब्ध हुने गरी समन्वय मिलाउन सक्यो भने स्थानीय सरकारहरूको नागरिकप्रतिको जिम्मेवारीलाई आत्मसाथ गरेको अनुभूति मिल्नेछ ।
कतिपय अवस्थामा रक्तदान गरेकै परिवारभित्रको बिरामी अस्पतालमा भर्ना हुँदा बिरामीका कुरुवाहरू रगतको खोजीमा छटपटाइरहेको खबरहरु आउने गर्दछन् । उहाँहरू भन्नुहुन्छ मैले रक्तदान गरे तर मैले आज रगत पाइन । हो हामीले दान गरेको कुरा फेरि आफूले प्राप्त गर्नको लागि हामीले दान गरेको होइन । तर जुनसुकै बिरामीले पनि परेको बेलामा तुरुन्तै रगत पाउनुपर्छ भन्ने यो मूल मान्यता हो । यसका लागि स्थानीय सरकार नेपाल रेडक्रस सोसाइटी रक्तदाता स्वयंसेवी समाज स्थानीय संघ संस्थाहरु र अन्य सरोकारवालाहरूको बीचमा समन्वय हुन जरुरी छ । बर्दिया जिल्लामा सबैभन्दा पहिले रक्तदान कसले गर्यो ?
कतिजना रक्तदाताहरु छन् कुन पालिकामा कति जना रक्तदाताहरु छन् उनीहरूको नाम मोबाइल नम्बर बल्ड ग्रुप हामीसँग अद्याबधिक हुन सकेको छैन । स्थानीय सरकार,स्थानीय रेडक्रस, पालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज, नजिकैका ब्लड बैंकहरूको समन्वयमा नियमित रूपमा रक्तदान गर्ने, रक्तदाताहरूको अध्यावधिक विवरणहरू राख्ने गर्न सकियो भने निश्चित रुपमा कसैले पनि रगतको अभावको अनुभूति गर्नुपर्ने छैन । (लेखक नेपाल रेडेक्रस सोसाइटी जिल्ला शाखा बर्दियाको मन्त्री, रक्तदाता स्वयंसेवी समाज बर्दियाको सल्लाहकार हुनुहुन्छ)