अपराध एउटा सामाजिक चरित्र हो । अपराध समाज भित्र नै हुने हुँदा यसलाई समाजिक तत्वहरुले नै बढावा दिईरहेको पाईन्छ । विभिन्न कोण, क्षेत्र, दिशा र विन्दुबाट नजानिदो ढंगबाट अपराधले प्रश्रय पाईरहेको हुन्छ । त्यसका लागि समाजमा स्थापित मूल्य, मान्यता, विद्यमान आर्थिक, धार्मिक, सामाजिक परिवेशका साथै मूल्यमा आएको गिरावट नै अपराधमा बृद्धि हुनुका मुख्य विषय होलान् । यसका अलावा चलिआएका परम्परा, रितिरिवाज, वैज्ञानिक प्रविधिले भित्र्याएका विकृति, विसंगति झन् विकराल रुपमा देखिएको छ ।
त्यतिमात्र होईन, हामी भित्र रहेको महत्वकांक्षा, घमण्ड, लोभ, ईर्श्या र हेलचक्र्याईँ पनि अपराधका कारक हुन् ।मानिसमा क्षणिक रुपमा उत्पन्न हुने आवेग, कुण्ठा, संवेदनहीनता जस्ता गैह्र चरित्रहरुले पनि अपराधिक घटनामा वृद्धि गराएको पाईन्छ । दैनिक जसो घट्ने चोरी, डकैति, हत्या, वलात्कार, हिंसा जस्ता प्राकृतिक घटनाहरुले समाज त्रस्त र भययुक्त देखिन्छ । कुनै न कुनै रुप र आवरण भित्र हुने अपराधले अन्ततोगत्वा समाज कै शान्ति सुरक्षामा प्रत्यक्ष असर गरिरहेको हुन्छ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा कुनै न कुनै आवरणमा भएका यौनजन्य हिंसाहरुले समाजको वास्तविक चरित्रलाई पर्दाफास गरेको छ ।
हाम्रो समाज एक आपसमा भाईचारा, एक अर्काको दुःख-सुखको सहयात्री हुने विशिष्ट चरित्रको छ भनेर गौरव गर्ने धेरै छौँ । तर यसमा विस्तारै मूल्य मान्यताहरु भत्कदै स्खलित हुँदै गईरहेको तथ्य अपराधका तथ्यांकहरुले पुष्ट्याई गरिरहेका छन् । आज मानिस स्वार्थै स्वार्थको भुमरीमा फस्दै जानु र विस्तारै एक्लदैँ जानु भित्र पनि अपराधको गन्ध छ । विगतमा हाम्रा पुर्खाहरुले दिने आषिस कति सकारात्मक र उर्जायुक्त हुन्थ्यो, नैतिक चरित्रहरुलेभरिएको उर्जा हुन्थ्यो । आज तिनै विषयहरु नकारात्मक तर्फ लक्षित हुँदा समाजमा अपराधिक प्रवृत्ति मौलाएको पाईन्छ ।
वालिकाहरु घर भित्रै हजुरबुवा, बुवा, दाजुभाई, मामा, काकाबाट हिंसाको सिकार वनेका छन् भने गुरु जस्ता पवित्र आसनबाट बिद्यार्थी पिडित हुनु पछाडि समाजको गति धर्मराएको छ । आफ्नै आफन्त, नजिकका नातेदारबाट पिडावोध गर्नु पर्दा वाँच्नुको अर्थ जोडिन पुग्दछ । त्यो वेला उज्वल भविष्यको सुनौला तस्विर भित्र डर त्रास र पिडाका, दर्दनाक दृश्य पछाडि आत्महत्या जस्ता घटनाहरुले प्रश्रय पाईरहेका छन् । नैतिक पतनका यी र यस्ता दृष्टान्तहरु यहि समाजबाट श्रृजना भएका र अझै भईरहने छन् ।
दैनिक जसो हुने अपराधकलो आंकडालई हेर्ने हो भने समाजका आधिकांश व्यक्तिहरु त्यहि सुची भित्र छन् । आधिकांश युवाहरु लागूऔषधको कुलतमा फसेका कुरामा अभिभावकहरु वेखवर छन् । आफ्ना छोराछोरीको दैनिकका बारेमा ध्यान दिन नसक्नु र आफै गलत गतिविधिमा संलग्न हुनुले आभिभावकहरुको गैह्र जिम्मेवारी प्रष्ट देखिएको छ ।
कमि कमजोरीहरुको विश्लेषण गरि मिहिन ढंगबाट त्यसलाई निरुत्साहन गर्नु पट्टी लाग्नु पर्नेमा छिमेकीले थाहा पाउछन् कि भनेर राखिने गोप्यताले गलत मार्गलाई झनै प्रश्रय दिएको पाईन्छ । समाजको वर्तमान अवस्थालाई हेर्ने हो भने अधिकांश पुरुष मदिरा लगायतका कुलतबाट सामजिक बद्नाम कमाउदै आत्माहत्या गरेको उदाहरणहरु धेरै छन् ।
त्यसै भित्र महिलाहरु हिंसामा परेका घटनाहरु त अझै पनि अनगिन्ती नै छन् । जुन आवाज कानूनको दैलो सम्म पुग्न नसकि पिडाकै बिचमा आत्माहत्या गरेका कयौँ उदाहरणहरु हाम्रै गाउँघरमा भेटिन्छन् । यी र यस्ता कैयन विषयहरुको निरुत्साहन तर्फ हाम्रो समाज अलि कति पनि समय खर्चन चाहदैन ।
सामाजिक विकृति विसंगतिहरु समाजको प्रगतिका वाधक हुन भन्ने जान्दा जान्दै पनि त्यस तर्फ ध्यान गएको देखिदैन/बुढी मरि भनेर चिन्ता होईन कि काल पल्क्यो भनेर हरेकले बुझ्न जरुरी छ । हाम्रै समाजमा एउटाको छोरो कुलतमा लागेको देखेर रमाउनेहरु भोली त्यही ठाँउमा आफ्नो छोरालाई भेटाउदा के गर्ने हो ? हरेकले बुझ्न जरुरी छ । विकृति विसंगतिले समाजलाई अधोगति तर्फ नै लाने हो, तसर्थ वेलैमा किन सजक नहुने ।
मातृ वात्सल्य भित्र मायाको अपार भण्डार हुन्छ । त्यही माया नै संसार रुपी हुने हो । विडम्वाना ! विकृति विसंगतिको खोल भित्र अवैध गर्भधारण गर्ने देखि भ्रुण हत्यामा संलग्न हुने क्रुर संवेदनहिन मातृत्वले आज समाजलाई खिसीट्यूरी गरिरहेको छ। पृथ्वीका यावत जीवजीवात्मा मध्ये मानिस सर्वश्रेष्ठ भनिदै गर्दा पशु भन्दा पनि निच व्यवहार देखिनु कति सम्मको लाजको पराकाष्टा हो ? तपाई आफै अनुमान गर्न सक्नु हुन्छ । यी र यस्ता दृष्टान्तहरु यति मात्रैमा सिमित छैनन् ।
सवारी साधन प्रयोगकर्ताहरुको अर्कमव्यताका कारण सयौँ व्यहक्तिहरुको मृत्यु अनि घाईते भई अपाङ्ग जीवन ब्यतित् गर्नु परेको यथार्थ हाम्रै अगाडि छन् । सडक प्रयोगकर्ता म मात्रै हुँ, सडक मेरो हो,आफू भन्दा अघिपछि, दायाँबायाँ कसैलाई नदेख्ने मुर्ख प्रवृत्तिले सवारी दुर्घटनामा वृद्धि भइरहेको छ । तर घटनाको पटाक्षेप भईरहँदा सामाजिक संजालमा फोटो राखेर रमाउने जमात दिनानुदिन वढ्ने क्रममा छ । अर्कालाई दोष देखाई पानीमाथिको ओभानो हुने प्रवृत्तिले स्वयं आफैँलाई न्याय दिलाउँदैन ।
समाजमा नकारात्मक उर्जा फैलाउने, कसैको वद्ख्वाई गर्ने, वदनामी गर्ने काममा भन्दा पनि विकृति,विसंगतिहरुलाई हटाउन समाजका सवै वर्ग, क्षेत्र, समुदाय जुट्नु अनिवार्य भै सकेको छ । ढिला नगरौँ, भोली पछुताउनु भन्दा आजै जमर्को गरौँ । सकारात्मक विचार, व्यवहार, आचरणबाट मात्रै समुन्नत समाज निर्माण गर्न सकिन्छ ।