‘द्रौपदी’ की आश्विनी : हिरोइन बन्न बाँकी नै छ !
शनिबार, चैत ०८, २०८१ मा प्रकाशित

काठमाडौँ चैत०९ । शुक्रबार नेपाली चलचित्र ‘द्रौपदी’ रिलिज भएको छ । यो चलचित्रको प्रमुख भूमिकामा रहेकी आश्विनी शाही ‘अडिसन’मार्फत छानिएकी थिइन् ।

‘द्रौपदी’चलचित्र मार्फत आश्विनी शाहीले फिल्म अभिनेतृका रूपमा पहिलो पाइला टेकेकी हुन् । त्यसअघि उनले फिल्ममा आउनेबारे योजना बनाएकी थिइनन्

निर्माण युनिटले कलाकार खोजी गर्दै ‘अडिसन’ राखेको थियो । ४ सयभन्दा बढी प्रतिस्पर्धीलाई पन्छाएर शाही मुख्य भूमिकामा छानिएकी हुन् ।

‘फिल्मले अडिसन मार्फत कलाकार छानिरहेको मिडियामार्फत थाहा भयो’, शाहीले भनिन्, ‘कतै अभिनयको अवसर मिलिहाल्छ कि भनेर गएकी थिएँ, सफल भएँ ।’

अडिसनमा छानिएपछि अभिनयका लागि केही समय प्रशिक्षणसमेत लिएको शाहीले सुनाइन् ।

‘द्रौपदी’ बहुपति प्रथाको कथामा निर्माण भएको फिल्म हो । यसकै मुख्य भूमिकामा शाही छिन् भने अन्य पात्र उनको वरिपरि घुमेका छन् ।

फिल्ममा शाही कर्णालीकी महिलाका रूपमा देखा परेकी छन् । ‘अहिले गाउँले परिवेशका कथामा फिल्म बनिरहेका छन् । त्यस्ता कथा र पात्रले समेत दर्शकको मन जितिरहेको छ’, उनले भनिन्, ‘हाम्रो फिल्म पनि गाउँको अर्ग्यानिक कथामा बनेको हो । कथा र मेरो अभिनय दुवैले दर्शकको मन छुन्छ ।’

शाही हुम्लामा जन्मिए पनि काठमाडौँमै हुर्केबढेकी हुन् । उनलाई गाउँको उकालो ओरालोको त्यति अनुभव छैन । त्यसैले पनि कर्णालीमा फिल्म छायाङ्कन क्रममा उनी लडेर घाइतेसमेत भएकी थिइन् ।

सहरमा हुर्किएकाले पहाडी क्षेत्रमा फिल्म छायाङ्कनमा केही कठिनाइ भए पनि दर्शकले आफूलाई फिल्ममा कर्णालीकै बासिन्दा झैँ पाउने शाही बताउँछिन् । आफू नेपाली भएकाले नेपाली क्यारेक्टर जहाँ हुर्किए पनि सुहाउने उनको भनाइ छ ।

शाहीका अनुसार फिल्मले कर्णालीको बहुपति प्रथाको अलावा त्यहाँको सुखदुःख समेत उठाएको छ । फिल्मले मानिसलाई रुवाउने, हँसाउने गर्दै अन्तिममा एउटा राम्रो सन्देश दिने उनको भनाइ छ ।

फिल्मको ट्रेलर र गीतमा उनको उपस्थिति राम्रो छ । मिडियामा पनि उनी छाइरहेकी छन् । ‘फिल्मको ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाएका कारण पनि मिडियाको फोकसमा पर्न सकेकी हुँ’, उनले भनिन्, ‘पहिलो फिल्मबाटै नसोचेको चर्चा पाउँदा दङ्ग छु ।’

फिल्मको ट्रेलर हेरेर धेरैबाट राम्रो प्रतिक्रिया पाएको बताउने शाही फिल्म रिलिजपछि त्योभन्दा राम्रो प्रतिक्रिया मिल्ने बताउँछिन् । दर्शकबाट आउने प्रतिक्रिया अनुसार आफूलाई अगाडि बढाउने सोचमा छिन् उनी ।

शाही भन्छिन्, ‘फिल्म धेरैभन्दा धेरैले हेरुन् । मेरो अभिनयको पनि प्रशस्तै प्रतिक्रिया मिलोस् भन्ने चाहना हो ।’ रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय