दिनेश ठाकुर
बर्दिया,चैत ११/ बढैयाताल गाउँपालिका–९ स्थित जय कालिका माध्यमिक विद्यालयमा शनिबार ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ विश्व पानी दिवस मनाईएको छ । विद्यार्थीको पाठ्यक्रमलाई व्यवहारिक रूपमा प्रयोग गर्दै पानीलाई सुरक्षित राख्ने, भण्डारण गर्ने, सफा पानी छुट्याउने तथा पानी छान्ने विधि सम्बन्धी विविध क्रियाकलाप गरि शनिबार दिवस मनाईएको हो ।
विद्यालयले गेरुवा ग्रामीण जागरणसँग मिलेर विगत चार वर्षदेखि पानी तथा हरित विद्यालय निर्माण सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्दै गएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले विद्यार्थीहरूलाई सरसफाइ तथा व्यक्तिगत स्वास्थ्यका विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । फिल्टर गरी पानी पिउने बानी बसाल्ने, सेनेटरी प्याडको सही प्रयोग तथा व्यवस्थापन गर्ने, घरमै सेनेटरी प्याड बनाउने विषयमा समेत विभिन्न तालिमहरू सञ्चालन गरिएका छन् ।
साथै, फोहोर व्यवस्थापनमा विद्यार्थीहरूलाई सचेत बनाउन उत्पादन भएका फोहोर वर्गीकरण गर्ने, नकुहिने फोहोरलाई व्यवस्थित रूपमा संकलन तथा पुनः प्रयोग गर्ने, कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्ने जस्ता अभ्यास गराइएका छन् । विद्यार्थीहरूले प्लास्टिकजन्य वस्तुहरू पुनः प्रयोग गरेर विभिन्न सामग्री निर्माण गरिरहेका छन् । शुक्रबार आयोजित तालिमहरूमा विद्यार्थीहरूलाई वातावरण संरक्षणका विविध उपायबारे जानकारी तथा तालिमहरू दिइने गरिन्छ ।
विद्यालयले सिकाइएका कुरालाई विद्यार्थीहरूले घरमा लागू गरिरहेका छन् । यसका कारण उनीहरूले आफ्नो घर स्वच्छ राख्न, बिरुवा रोप्न, करेसाबारी निर्माण गर्न, खेतबारीमा काम गर्न तथा महिनावारी सरसफाइ सम्बन्धी जानकारी आफ्ना दिदीबहिनी तथा आमालाई दिने गरेको विद्यालयका स्रोत व्यक्तिले बताए । यसरी विद्यालयमा सिकेका कुरालाई समुदायमा विस्तार गर्न विद्यार्थीहरू सफल भइरहेका छन् ।
हरित विद्यालय निर्माणका क्रममा विद्यालय परिसरको खाली जमिनमा तरकारी खेती, फूल खेती तथा च्याउ खेती गरिएको छ । खेतीबाट प्राप्त आम्दानी आवश्यक सामग्री खरिदमा प्रयोग गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद लुइटेलका अनुसार विद्यार्थीहरूलाई पढाइसँगै आम्दानी गर्न सक्ने वातावरण सिर्जना गर्न पालिकासँग मिलेर काम गर्ने योजना बनाइएको छ ।
बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन तथा अत्यधिक पानीको उपयोगका कारण पानी सङ्कट बढ्दै गएको वर्तमान अवस्थामा यस दिवसले पानी संरक्षण तथा व्यवस्थापनको महत्त्वबारे सचेतना दिने विश्वास गरिएको छ ।