समाज परिवर्तनमा सक्रिय बन्दै बर्दियाका किशोरी
सोमबार, चैत १०, २०८१ मा प्रकाशित

ज्योति पन्थी

बर्दिया, चैत ११/ गुलरिया नगरपालिका वडा नं.१२ मा रहेको भैसाही गाउँका २५ जना किशोरी यतिबेला समाज परिवर्तन गर्न जुटेका छन् । वडालाई बालबिवाह मुक्त गराउनेदेखि लागु औषध प्रयोग नियन्त्रण, महिला हिंसा रोक थामलगायत विभिन्न काममा सक्रिय बन्दै आएका हुन् । गाउँमा किशोरी क्लब गठन भएपछि अहिले गाउँको मुहारनै परिवर्तन भएको छ भने गाउँलाई बालबिवाह मुक्त गाउँ बनाउन सफल भएका छन् ।

भैसाही गाउँमा २५ जना किसोरी मिलेर एउटा किशोरी क्लव गठन गरेका छन् । बिदाको दिन होस् या फुर्सदको समय उनिहरु एक ठाउँमा जम्मा हुन्छन् र गाउँका घर घरमा पुगेर बालबिवाह नगर्न र नगराउन अनुरोध गर्ने गर्दछन् । त्यस गाउँका किशोरीहरुले किशोरी समूह गठन गरेपछि अहिले त्यस गाउँमा लागु औषध नियन्त्रण र महिला हिंसा समेत नियन्त्रण भएको छ । गाउँमा कसैको बिवाह हुन थाल्यो भने सबै किशोरी मिलेर बिवाह उमेर पुगेको नपुगेको समेत उनिहरुले सोध्ने गर्दछन् ।

भैसाही गाउँमा गठन भएको किशोरी समूहमा १५ देखि १८ वर्षसम्मका किशोरीहरु धेरै देख्न पाइन्छ । विद्यालयको कक्षा कोठादेखि गाउँ घरसम्म उनिहरुले सचेतना फैलाउँदै आएका छन् । किशोरी समूह गठन भएपछि लागु औषध प्रयोग नगर्न अनुरोध गर्दै घरघरमा पुग्ने गरेको भैसाहीमा रहेको किशोरी क्लबका अध्यक्ष सन्धया थारुले बताईन । उनले भनिन्, ‘‘हामिले क्लबमा बसेर समाज परिवर्तन गर्न खोजी रहेका छौं । त्यसमा आफुहरुलाई अभिभावक र शिक्षकहरुले समेत साथ दिइरहेका छन् ।’’

नेपाल–भारत सिमा क्षेत्रबाट लागु औषध प्रयोगकर्ताहरुले लागु औषध भित्र्याउने गरेका कारण सचेतनाका लागि उनिहरुले नेपाल–भारत सिमा क्षेत्रमा पनि विभिन्न किसिमका चेतनामुलक कामहरु गर्दै आइरहेको क्लबका सदस्य फिजा खानले बताए ।

गुलरिया नगरपालिका वडा नं.१२ मा पर्ने भैसाही गाउँको किशोरी क्लबलाई बाँके युनेश्को क्लबले सहयोग गर्दै आइरहेको छ । नेपाल सरकराले सन् २०३० भित्रमा नेपाललाई बालबिवाह मुक्त गर्ने लक्ष्य बमोजिम बालबिवाह न्यूनीकरणका लागि काम गर्दै आइरहेको क्लबले जिल्लामा रहेका किशोरी क्लबलाई परामर्श दिने मासिक रुपमा उनिहरुलाई तालिम दिने र अध्ययनका लागि अध्ययन सामग्रीको समेत व्यवस्था मिलाएको बाँके युनेश्को क्लबका सशक्त बालिका परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले बताए ।

कक्षा ८ देखि १२ कक्षा अध्ययन गर्ने किशोरीहरु किशोरी क्लबमा सम्मिलित भएको र किशोरी क्लब गठन भएपछि त्यस गाउँदेखि विद्यालयसम्म धेरै परिवर्तन आएको गुलरिया नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख सतिश यादवले बताए ।
विद्यालयमा अध्ययनरत रहेका बालबालिकाले विद्यालय जान छोडेमा पनि किशोरी क्लबका सदस्यहरु घरमा पुगेर अभिभावकलाई सम्झाई बुझाई गरी विद्यालय पठाउने गरेका छन् । स्रोत गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय