के चाँगुनारायणमा मुर् दैत्यको उपद्रो जारी छ?
सोमबार, चैत १०, २०८१ मा प्रकाशित

चैत ११, काठमाडौं / युनेस्कोको विश्व सम्पदाका रूपमा अंकित चाँगुनारायणको मन्दिर उभिएको दोलागिरि पहाडको उत्पत्तिसँग जोडिएको एउटा पुरानो किम्बदन्ती निकै चाखलाग्दो छ।

चाँगुनारायण मन्दिर हातामा रहेको प्राचीन किलेश्वर महादेवका युवा पुजारी शंकर भट्टले त्यो कथा आफ्ना बाबु बाजेबाट सुनेका हुन् — धेरै पहिले शिवजीबाट आशीर्वाद पाएको मुर् भन्ने दैत्यले दोलालघाटदेखि नागार्जुनसम्मका डाँडालाई एकैपटक तान्न थालेर काठमाडौं उपत्यका पूरै ध्वस्त हुने स्थिति आयो। त्यसपछि विष्णुसहितका देवताले शिवजीलाई गुहारे रे।

शिवजी आफै आएर यहाँ किला जसरी गाडिएर बसेपछि पनि मुर् भन्ने दैत्यले यो पहाडलाई डोलीसरी हल्लाइरहेको छ। शिवजी त्यसरी किलाजसरी गाडिएर बसेको स्थानमा बनाइएको किलेश्वर महादेवको सानो तर भव्य एवं कलात्मक मन्दिर चाँगुनारायण मन्दिरदेखि दक्षिणपश्चिमपट्टि छ।

शंकर भट्ट नेपाल सम्वत् ‍८११ मा पशुपितनाथबाट चाँगु बोलाइएका भट्ट पुजारीका सन्तान हुन्। उनका पुर्खा चाहिँ पशुपतिनाथको ज्योतिर्लिंगको नित्य पूजा गर्न दक्षिण भारतको कर्नाटकको उडुप्पी क्षेत्रबाट नेपाल डाकिएका थिए।

चाँगुको किलेश्वर महादेव मन्दिरका पुजारी शंकर भट्ट। उनका पुर्खा दक्षिण भारतबाट झिकाइएका थिए। 

मुर् भन्ने दैत्यले प्रलयकारी उपद्रो गरेको पौराणिक कालमै हो।तर ४६ वर्षीय शंकर भट्टको चिन्ता यस्तो छ — त्यो ‘मुर् भन्ने दैत्य प्रवृत्ति’ अहिले पनि विभिन्न रूप र अवतारमा चाँगुनारायण र दोलागिरि वरपर उत्पात् मच्चाउन व्यस्त छ।

उनको भताइको आसय यस्तो रहेछ — अहिले पनि त्यस्ता दानवरूपी क्रियाकलाप जारी रहेकै कारण चाँगुको थुम्को र वरपर विभिन्न विकृतिहरू बढ्ने क्रममा जारी छ। त्यसैले दोलागिरिको प्राचीन पहिचान क्रमिक रूपमा गुम्दैछ र ध्वस्त पारिँदैछ।

पहिलो, २०७२ वैशाख १२ पछि क्षतिग्रस्त चाँगुनारायणको मन्दिरको नवनिर्माण गर्ने क्रममा मन्दिरको बाहिरी आवरणमा आधुनिक पाराले रंगरोगन गरेर ‘झिल्के’ बनाइएको छ। मुख्य मन्दिर मात्र होइन, चाँगु पहाडको दक्षिणी पाखाका प्राचीन मन्दिर र दर्शनअघि नुहाउने प्राचीन शंख दह पनि अत्याधुनिक तरिकाले नवनिर्माण गरिसकिएको छ।

ती कार्य पुरातत्व विभागको योजना र युनेस्कोको विश्व सम्पदा संरक्षणबारेको निर्देशिका भन्दा विपरीत भएको शंकर भट्टको जिकिर छ।

दोस्रो, मन्दिर हाताभित्रै रहेको लक्ष्मीनारायणको नवनिर्माण प्राचीन तरिकाले नभई फरक तरिकाले गर्ने प्रयास जारी छ। जसको खरो विरोधमा उनी एक्लै भए पनि पुरातत्व विभागसँग जुधिरहेका छन्।

तेस्रो, समुद्र सतहबाट १७ सय मिटरमा उभिएको चाँगुको थुम्को वरिपरि बुलडोजर लगाएर, पहाड भत्काएर, फेरि सम्याउँदै घरजग्गा तथा बस्ती विकासको क्रम तीव्र छ। जसका कारण चाँगुको थुम्कोदेखि तलतिरबाट दोलागिरिलाई जोगाइरहेका जंगल विनाश हुने क्रम बढेको उनको अनुभव छ।

तिनै कारण चाँगुको डाँडो वरिपरिका खहरे र नदीमा बाढी आउँदा दोलागिरिको फेदीतिर पहिरो जाने क्रम सुरू भइसकेको छ (हरेक वर्खायाम अघि खबर आइरहन्छ– चाँगुको पश्चिम-उत्तर फेदीमा रहेको कुँइकेल गाउँमा बाढीको जोखिम बढ्यो!)।

‘परिणाम स्वरूप चाँगुको थुम्को आफै मानव-सिर्जित ठूलो विपदको जोखिममा लगातार परिरहेको छ,’ शंकर भट्ट गम्भीर हुँदै भन्छन्, अनि सोध्छन्, ‘अब तपाईँ नै भन्नुस्, मुर् भन्ने दैत्य वा उसले गर्ने जस्ता उपद्रो अहिले पनि भइरहेका छन् कि छैनन्?’

काठमाडौंको अद्वितीय सम्पदा

लिच्छविकालीन राजा हरिदत्त बर्माले तेस्रो शताब्दीतिर स्थापना गरेको चाँगुनारायणले सदियौंदेखि भक्तजन र वास्तुकलाका पारखीहरूलाई मात्र लोभ्याएको छैन; यसले विभिन्न कालखण्डका शासकहरूलाई आकर्षित तथा मोहित तुल्याउँदै आएको छ।

लिच्छविकालकै अर्का राजा मानदेवले लिच्छवि सम्वत् ५२१ मा चाँगुनारायणमा गरूडको मूर्ति स्थापना गर्दै जमिन समेत चढाएको अभिलेख छ। कुनै बेला गरूड नारायण समेत भनिने मन्दिर हातामा मानदेव र उनकी रानीको मूर्ति अझै सुरक्षित छ।

पछि, मध्यकालमा राजा शिव सिंहकी रानी गंगारानी र मल्ल कालमा कान्तिपुरका राजा भास्कर मल्लले मन्दिरलाई हालको स्वरूप दिएको बताइन्छ।आफ्नो उत्तरतर्फको दोलागिरि पर्वतमालको पश्चिमी सुरमा उभिएको भव्य चाँगुनारायणलाई भक्तपुरवासीले मात्र श्रद्धा गर्दैनन्; यसलाई उत्तरतर्फका कागेश्वरी र साँखुवासीले उत्तिकै पुज्दै आएका छन्।

चाँगुदेखि पश्चिमपट्टि मनोहरा नदी पारि रहेको मूलपानीवासीले पनि चाँगुनारायणलाई आफ्नै ठान्छन्, पुज्छन्।

समय निकै बदलिइसकेको छ। हामी सानो हुँदा हरिया फाँट र हरिया वनैवनले घेरिएको चाँगुको डाँडो हेर्दाहेर्दै फेरिइसकेको छ। दोलागिरि वरिपरि ठाउँ ठाउँमा भिरालो जमिन धेरै नै कोपरिइसकेको देख्न सकिन्छ।

यो क्रम चाँगुको डाँडो वरिपरि नै तीव्र भइसकेको छ। पश्चिम र उत्तरका मनोहरा फाँटमा मात्र होइन, दक्षिणको दुवाकोट र झौखेल क्षेत्रमा, पूर्वको छालिङ भेगमा र उत्तरको खोरियाका गरा गरामा नयाँ घर तथा बस्ती निर्माणको क्रम पछिल्ला केही दशकमा ह्वात्तै बढेको छ।

धन्य छ, उपत्यकामा नगर विस्तारको लहर!

चारैतिरबाट कच्ची वा ढलान सडक दोलागिरि उक्लिइसकेका छन्।

चाँगुनारायणको डिलमा देशी विदेशी पर्यटकलाई पाल्न र पोस्न सानादेखि ठूला लज तथा होटल खुल्ने क्रम रोकिएको छैन। त्यही भिडमा युवा पुजारी शंकर भट्टले पनि नेपाली शैलीको अग्लो होटल खोलिसकेका छन्। छतबाट चाँगुनारायणको गजुर देखिने परम्परागत नेपाली शैलीमा बनाइएको होटल तथा रेस्टुरेन्टको नाम दिएका छन् ।

सेतोपाटीबाट साभार

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय