दिनेश ठाकुर
नेपालमा गणतन्त्र स्थापना भएको १८ बर्ष भइसकेको छ, तर नागरिकहरूमा बढ्दो निराशा छ । कारण भनेकै गणतन्त्रको नाममा आफन्ततन्त्र, आसेपासेतन्त्र, स्वार्थतन्त्र, भ्रष्टतन्त्र र लुटतन्त्रले देशलाईक अन्धकारमा धकेलिरहेको छ । यसरी सत्ता, शक्ति, सम्पत्ति आर्जन गर्नेहरूको संख्या बढ्दै जाँदा जनता नै राज्य व्यवस्थासँग विमुख हुन पुगेका छन् । जनताले विश्वास गरेको व्यवस्था नै असफल बन्दै गएको महसुस गर्न थालेका छन् ।
देशको नेतृत्व गर्नेहरूले जनताको आशा र सपना पुरा गर्नुभन्दा आफ्नै स्वार्थपूर्ति गर्नमै केन्द्रित हुँदा सरकारको असफलता व्यवस्थाप्रतिकै आक्रोश बनेर सडकमा पोखिन थालेको छ । जनता अब परम्परागत राजनीतिक खेलबाट थाकिसकेका छन् । अबको आवश्यकता ऐतिहासिक राजनीतिक सुधारको हो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली : समाधानको मार्ग ?
नेपालमा अहिलेको प्रणाली दलहरूको भागबण्डा, शक्ति सन्तुलन, गठबन्धनका गुप्त सम्झौताले भरिएको छ । जसका कारण देशको नीति, नेतृत्व र कार्यशैली दलीय राजनीति, भागबण्डा र गुटबन्दीको घेराबाट मुक्त हुन सक्दैन । यस समस्याको समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक देखिन्छ ।
प्रधानमन्त्री वा राष्ट्रपतिलाई प्रत्यक्ष रूपमा निर्वाचित गर्ने व्यवस्था लागू गरिएमा नेपाली नागरिकहरूले आफैं नेतृत्व चयन गर्न सक्नेछन् । यस्तो कार्यकारी नेतृत्व सरकार स्थिर, उत्तरदायी, पारदर्शी र जनहितप्रति समर्पित हुने सम्भावना बढ्छ । अहिलेको संसदीय प्रणालीमा बारम्बार सत्ताको अदल–बदल, अस्थिरता, पार्टी फुट्ने, गुटबन्दी, विदेशी चलखेलको प्रभाव बढी देखिएको छ । यसकारण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले समाधान ल्याउन सक्छ ।
राजतन्त्र पुनःस्थापना सम्भव छैन
नेपालले २४० वर्षसम्म राजतन्त्र भोगिसकेको छ । त्यो शासन प्रणालीमा पनि राजपरिवार र केही उच्चवर्गीय व्यक्तिहरूले मात्र फाइदा उठाए, सर्वसाधारण जनता भने जहिल्यै अभाव र अन्यायमा परे । इतिहासले देखाइसकेको छ कि राजतन्त्र पनि राजनीतिक पार्टीहरू जस्तै छलकपट गर्ने, जनतालाई अन्धकारमा राख्ने, थिचोमिचो गर्ने व्यवस्था थियो । त्यसैले लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । जनता स्वतन्त्र हुन चाहन्छन्, शासनमा प्रत्यक्ष सहभागिता चाहन्छन्, जसलाई राजतन्त्रले कहिल्यै अनुमति दिँदैन ।
तर, अहिलेको गणतन्त्र पनि पूर्णरूपमा सफल भइसकेको छैन । सत्ता चलाउनेहरूले भ्रष्टाचार, अनियमितता र आफन्तवादलाई प्रश्रय दिँदा जनताले चाहेको समानता, स्वतन्त्रता, पारदर्शिता र विकास हुन सकिरहेको छैन । त्यसैले अब सुधारको खाँचो छ ।
उन्नत लोकतन्त्रको खाँचो
लोकतन्त्रको नाममा दलहरूका सीमित नेताहरूले मात्र शासन गर्ने होइन, सम्पूर्ण जनताले आफ्नो सहभागिता जनाउने वातावरण बनाइनुपर्छ । समावेशी, पारदर्शी र उत्तरदायी सरकार हुनुपर्छ । केही राम्रा नेताहरू पनि राजनीतिमा आएका छन्, जसले आशाको सञ्चार गरेका छन् । बालेन साह, हर्क साम्पाङ, गोपी हमाल जस्ता स्वतन्त्र रूपमा उदाएका नेताहरूले काम गरेर देखाइरहेका छन् । यस्ता युवाहरूको संलग्नता अझै बढाउन आवश्यक छ ।
देशलाई सही मार्गमा लैजान अब दलहरूको दासत्व तोड्नुपर्छ । सक्षम, इमानदार र निर्भीक नेताहरू अगाडि आउनुपर्छ । राजनीतिक सुधार बिना समृद्ध नेपाल बनाउने सपना पूरा हुन सक्दैन । अबको परिवर्तनको पहिलो चरण भनेकै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्नु हो, जसले दलीय राजनीति, भागबण्डा र विदेशी प्रभावको अन्त्य गर्न सक्छ । साँचो अर्थमा लोकतन्त्र बलियो बनाउने समय आइसकेको छ ।