गुलरियामा दिनदहाडै चितुवाको आक्रमण
बिहिबार, चैत २०, २०८१ मा प्रकाशित

बर्दिया,चैत २१(फरकसमाचार)/ विगत केही दिनदेखि गुलरिया नगरपालिका वरिपरि चितुवाले आक्रमण गर्न थालेको छ । सदरमुकाम नजिक चितुवाले दिनदहाडै आक्रमण गर्न र देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

बुधबार दिउँसो चितुवाले दिनदहाडै आक्रमण गरि गुलरिया नगरपालिका–५ बालापुरका उमेश चौधरीको छोरा सात वर्षिय सर्जन चौधरीलाई घाईते बनाएको छ । घाईते बालकको बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगंज नसिङ्ग होममा रिफर गरिएको छ ।

गुलरिया नगरपालिका–४ स्थित आफ्नो हजुर आमासंग आफ्नै खेतमा गएको बेला चितुवाले आक्रमण गरेको हो । म खेतमा काम गरिरहेको नजिकै बाबु खाँटमा बसेर खेलिरहेको अवस्थामा चितुवाले झप्टेर मकै बारीमा लगेको घाईते बालकको हजुर आमाले बताईन् । ‘हा हा गर्दै दौडेपछि बाबुलाई चितुवाले छोड्यो,’उनले भनिन्,‘बाबुलाई उठाउँदा नजिकै रहेको चितुवाले गुर गुर गरिरहेको थियो ।’ नडराएर बाबुलाई उठाउँदा चितुवाले मलाई पनि झप्टिन खोजेको उनले सुनाईन् ।

घाईते बालकको घा“टीमा गहिरो चोट लागेको बर्दिया अस्पतालका मेसु डा.सुभाष पाण्डेयले जनाए । खेतमा गएको बेला बुधबार दिउँसो साढे २ बजे चितुवाले आक्रमण गरि बालकलाई घाईते बनाएको प्रहरीले जनाएको छ ।

त्यसैगरि मंगलबार गुलरिया नगरपालिका–७ स्थित कृष्णसार रिसोर्ट नजिक चितुवा खोरमा पसेर बाख्रा खाएको थियो । सोही नजिक मंगलबार दिउँसो कागती फर्म नजिक स्थानीयले चितुवा देखेका थिए । गुलरिया नगरपालिका–८ स्थित सर्जुनदी टपरा बस्तीबाट चितुवाले दिनहुँ कुकुरका छाउरा खाईरहेको छ । घर आँगनबाट साट वटा कुकुरका छाउरा खाईसकेको स्थानीयले बताएका छन् । बस्तीमा पल्केको चितुवाको सम्बन्धित निकायले निगरानी नगर्दा सर्वसाधारणले असुरक्षित महसुस गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय