बर्दिया,चैत २१(फरकसमाचार) / राष्ट्रिय राजनितिले सडक र सदन तातिरहेको अवस्थामा प्रतिपक्ष नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र राजतन्त्रतको पक्षधर राप्रपाको अध्यक्ष राजेन्द्र लिङदेलको बर्दिया आउँने मिति तय भएको छ । बुधवार बाँकेको कोहलपुरमा लुम्बिनी प्रदेशका अनेमसंघ (क्रान्तिकारी) महिला संगठन कार्यक्रममा दाहाल सहभागी भएका थिए ।
नेकपा माओवादीका लुम्बिनी प्रदेश सदस्य सुरेश पन्थका अनुसार जनतासँग माओवादी तराई मधेश कार्यक्रममा दाहाल बर्दिया बिहिबार बास बस्न आउँने भएका छन् । शुक्रवार भने आधा दर्जन तय गरिसकेको कार्यक्रममा दाहाल व्यस्त हुनेछन् ।
दाहाल बढैयाताल गाउँपालिकाको वडा नं. ५ जगतिया गाउँमा बास बस्नेछन् । शुक्रवार बिहान ७ बजे जगतिया गाउँमा भेटघाट सम्पन्न गरेर बिहान ८ बजे बढैयातालको वडा नं ६ मैनापोखरमा कोण सभाको कार्यक्रम तय गरिएको छ । यस्तै गुलरियाको बिक्रि गाउँमा शालिक अनावरण कार्यक्रम दश बजे तय भएको छ ।
त्यसै दिन दिउँस १२ बजे सदरमुकाम गुलरिया केन्द्रित कार्यक्रम रहेको छ । दिउँस २ बजे मधुवन नगरपालिका लालिबजारमा भव्य कोण सभाको कार्यक्रम रहेको छ । दिउँस ३ः३० बजे ठाकुरबाबा १ भुरीगाउँमा कार्यक्रम तय गरिएको छ । साझ पाँच बजे प्रचण्ड फिर्ता हुने नेकपा माओवादीका नेता पन्थले जानकारी दिए ।
यस्तै चैत २५ गते राप्रपाका अध्यक्ष लिङदेल बर्दिया आउँदैछन् । गत बर्ष राप्रपाको काठमाडौं केन्द्रित आन्दोलनमा सहभागि हुँदा ज्यान गुमाएका ठाकुर प्रसाद डाँगीको परिवारलाई भेट्न लिङदेल मधुवन पुग्ने भएका हुन् । मधुवनमा शालिक अनावरण कार्यक्रममा सहभागि हुने नेतृ पार्वति लम्सालले जाानकारी दिईन । उनका अनुसार राप्रकाका अध्यक्ष लिङदेलले बर्दिया पुगेपछि यहाँका समसामायिक बिषयमा छलफल र अध्ययन गर्ने कार्यक्रम तय भएको छ ।