२३ वर्ष देखि बेपत्ता रहेका एकै गाउँका तीनको अम्तिम संस्कार
शुक्रबार, चैत २१, २०८१ मा प्रकाशित

मान बहादुर चौधरी

बर्दिया,चैत २२/ सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएका तीन जनाको अन्तिम संस्कार गरिएको छ । बारबर्दिया नगरपालिका–७ सोनपुरका टेटराम थारु, हरि प्रसाद थारु र जंगु थारुको उनीहरुको परिवारले अन्तिम सस्ंकार गरिएको हो । टेटराम थारुको बुधबार अन्तिम संस्कार गरिएको हो । सरकारले आफ्नो श्रीमानको खोजी गरी सार्वजनिक गर्लाकी भन्ने आशमा २३ वर्ष पुगिसक्दा पनि केहि जवाफ नपाएको र आफु पनि बृद्ध अवस्था हुन लागेको साथै सरकार प्रतिको आश र बिश्वास गुम्दै गएकाले आत्म सन्तुष्तिका लागि अन्तिम संस्कार गरेको टेटरामकी श्रीमती रामदुलारीले बताइन् ।

३८ वर्षीय टाटेराम थारुलाई सोही ठाउँको रम्मापुरमा रहेको नेपाली सेनाको व्यारेकबाट आएको सेनाको समूहले २०५९ साउन २४ गते राती घरमा सुतिरहेको अवस्थामा उठाएर तीन घण्टाभित्र फिर्ता पठाई दिने भनेर लगे । सो टोलीको नेतृत्व सेनाका जम्दार महेन्द्र थापाले गरेको पीडित परिवारले रामदुलारीले बताइन् । सोही गाउँका हरिरामसंगै लगि सेनाले शौचालयमा थुनेर राखेका थिए । खोजी गर्न जाँदा सेनाले नल्याएको बतायो । सो कुरा छुटेर आएका व्यक्तिहरुले बताएको पीडित परिवारले जनाए । यस विषयमा ०६४ जेठ १८ गते अदालतमा मुद्दा दर्ता गरे पनि खारेज गरिदिएको पीडित परिवारको भनाई छ ।

टेटराम थारुसंगै वेपत्ता पारिएका सोनपुरका २४ वर्षीय हरिराम थारुको पनि परिवारले २०८१ चैत्र १२ गते अन्तिम सस्ंकार गरेका छन् । उनलाई पनि रम्मापुरमा रहेको नेपाली सेनाको व्यारेकबाट जम्दार महेन्द्र थापाको नेतृत्वमा आएको सेनाको टोलीले घरमा सुतिरहेको अवस्थामा उठाएर आँगनमा लाठ्ठी, बन्दुकको कुन्दाले कुटपिट गरे र उनको काका रामवली थारुसँगै उनलाई पनि रम्मापुर व्यारेकमा लगेर राखे । रामवलीलाई लगेकै दिन जङ्गलमा छाडे । गाउँबाट हरिरामसँग लगेका अन्य व्यक्तिलाई शौचालयमा राख्ने गरेको कुरापछि छुटेर आएका बुद्धि थारुले बताएको पीडित परिवारले बताए । हरिराम थारुको अवस्था भने हालसम्म अज्ञात रहेको छ ।

सेनाको टोलीले वेपत्ता पारेका सोनपुरकै जग्गु थारुको उनका परिवारले २०८१ चैत्र १५ गते अन्तिम संस्कार गरेका छन् । श्रीमान जीउँदै फर्कने आश मरेको र श्रीमानको मृत्यू दर्ता बनाउन नसक्दा चलअचल सम्पत्ति भोग चलन र सन्तानहरुको नाममा हस्तान्तरण गर्न कानुनी समस्या भोगी रहेको कारण मृत्यू दर्ता गराउनका लागि पनि अन्तिम संकार गर्न बाध्य भएको जग्गुकी श्रीमती फिरिया थारुले बताइन ।

जंगु सहित सोही गाउँका २९ वर्षीय राम भरोसे थारु, जगतराम थारु, ३१ वर्षीय जगना थारुलाई रम्भापुरमा रहेको शाही नेपाली सेनाको ५० जना जतिको समूहले २०५९ साउन २६ गते राति घरमा सुतिरहेको अवस्थामा उठाएर कव्जामा लिई आफुसंग लगि बेपत्ता बनाए । सेनाले आफूले ती व्यक्तिहरुलाई नल्याएको दाबी गर्दै आएको छ । सेनाले दुई दिनको अन्तरमा सोनपुर गाउँका ६ जनालाई घरबाटै कब्जामा लिई वेपत्ता बनाएको पिडित परिवारको भनाई छ । उनीहरुको अवस्था हालसम्म अज्ञात रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय