‘टाँगा चलाएर एक छाक खान पनि मुस्किल छ’
आइतबार, चैत ३०, २०८१ मा प्रकाशित

इन्ताज अलि मनिहार

बर्दिया,चैत ३१/ गुलरिया नगरपालिका–६ गौरीशंकर टोलमा ४५ वर्षअघि जन्मिएको हुँ । अहिले गुलरिया–८, सर्जुनदी टोलको सुकुम्बासी बस्तीमा बसोबास छ । सम्पत्तिका नाममा एउटा टाँगा र घोडा मात्र हो । बर्दियामा २० वर्षदेखि त्यहीँ टाँगा हाँकेर गुजारा चलाइरहेको छु । स्कुलको चौर टेक्न नपाएकाले लेखपढ गर्न जाँन्दिनँ । म सानै छँदा बुवा बितेपछि आमाले जसोतसो हुर्काउनु भयो । हामी ६ दाजुभाइमध्ये म जेठो भएकाले हुर्केपछि घरखर्च धान्ने जिम्मेवारी मेरै काँधमा आयो ।

सानो हुँदा ठूलो भएर धेरै कमाउँला र सुखसाथ बाँचौंला भन्ठान्थेँ । त्यो सपना पनि कहिल्यै साकार भएन । सायद मेरो भाग्यमै यस्तो रहेछ । पहिला जिल्लामा गाडीमोटर नहुँदा टाँगालाई महत्त्वपूर्ण सवारीका रूपमा लिइन्थ्यो । अचेल टाँगामा बस्नै मान्दैनन् । गुलरियादेखि भारतको मुर्तिहासम्म करिब ८ किलोमिटर सडकमा टाँगा चल्छन् ।

अर्को मुलुक भएर होला– अटो र गाडी चल्दैनन् । त्यति दूरी पार गराएको एक जनाको एक सय भाडा लिन्छु । उपचार, कमाउन, आफन्त भेटघाटमा भारत आउजाउ गर्ने मुसाफिर मेरा यात्रु हुन् । टाँगा सञ्चालन समितिमा १८ टाँगा आबद्ध छन् । एक दिनमा एउटाको मात्रै नम्बर पर्छ । पालो परेका दिन मुस्किलले ८/९ सय कमाइ हुन्छ । कुनै दिन यात्रु पाइएन भने रित्तो हात घर फर्किंदा चुलो बल्दैन । सबै जना भोकै सुत्नुपर्छ । यस्तो पीडा सुनाउने कुनै निकाय छैन ।

घोडाका लागि दिनमा ४ सयको दाना खरिद गर्नुपर्छ । भुसी, ब्रान्ड, गहुँ किनेर खुवाउनुपर्छ । घाँस आफैँ काटेर ल्याउँछु । प्रत्येक वर्ष टाँगाको टायर फेर्दा ४ हजार खर्च लाग्छ । ६ महिनामा ट्युब फेर्दा ४ सय लाग्छ । पन्चर भयो भने टाल्न १ सय लाग्छ । अरु सामान बिग्रिँदा घरमा मर्मत गर्छु । कमाइ नभएकाले टाँगा सिँगार्न सकेको छैन । टाँगामा छाता नभएकाले पेसेन्जर बस्न खोज्दैनन् । कुनै उपाय नभएपछि पुरानो त्रिपालले छाएर छाता बनाएको छु ।

छोरा १३ वर्ष पुगे पनि पढाउन सकेको छैन । ६ कक्षासम्म पढेर छोड्यो । सायद मेरो स्थिति र दुःख देखेर होला पढ्न मन गरेन । अहिले छोराले बर्खामा तिर्ने गरी ६ हजारको एउटा घोडा र १० हजार भारतीय रुपैयाँको बुग्गी (टाँगाजस्तै इँटा बोक्ने साधन) उधारोमा ल्याएको छ । यसले भट्टामा इँटा ओसार्ने काम गर्छ । एक हजार इँटा बोकेपछि ३ सय पाउँछ ।

छोराले दिनमा ५/६ सय कमाइ गरेर घरखर्चमा सघाइरहेको छ । वर्षात सुरु भएपछि भट्टाको काम बन्द हुन्छ । घोडा र बग्गीको १६ हजार ऋण बर्खासम्म तिर्न सकिन्छ कि सकिँदैन चिन्ता लाग्छ । टाँगा चलाएर घरखर्च नधानेपछि बीचबीचमा बाबुछोराले गाउँ र बजारमा फ्याँकिएका बोतल पनि संकलन गरेर बेच्यौँ । के गर्ने पेट पाल्न केही उपाय गर्नै पर्‍यो । पैसा भइदिएको भए टाँगा बिक्री गरेर पुरानो अटो चलाएर बालबच्चा पाल्ने रहर पनि थियो । घरमा सात जना छौं ।

आर्थिक अभावकै कारण दुई वर्षअघि पत्नी गुमाएँ । क्यान्सरबाट ग्रस्त पत्नीको उपचार गराउन नसक्दा गुमाउनु पर्‍यो । त्यतिबेला भगवान् पुकार्ने बाहेक कहीँ कतैबाट सहयोग मिलेन ।

अहिले मेरो पेसा नै धरापमा छ । कहिलेकाहीँ दिनभरि टाँगा स्टयान्डमा उभिएरै रात पर्छ । बोहनी अर्थात् सुक्को कमाइ हुँदैन । अस्तिको ठूलो पर्व ईदमा पनि यात्रुको प्रतीक्षा गरेरै दिन बित्यो । महान् पर्वमा पनि बालबच्चालाई लत्ताकपडा र राम्रो खाना खुवाउन सकिनँ । टाँगा चलाएर घोडालाई नै पाल्न धौ धौ भइरहेका बेला ज्यान कसरी पाल्ने भन्ने अर्को चिन्ता थपिएको छ । प्रस्तुति : रामप्रसाद चौहान/ईकान्तिपु साभार

प्रतिक्रिया

सम्बन्धित खवर