ज्ञानेन्द्र पोखरेल
बर्दिया,बैशाख ४/ बढैयाताल गाउँपालिकाको गेटमा शिक्षकले धर्ना कार्यक्रम सुरु गरेका छन् । शिक्षक महासंघ बढैयातालको आयोजनामा बुधबार देखि शिक्षकले गेटमा अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेका हुन् । पहिलो दिन बुधबार दिउँसो २ बजेसम्म शिक्षकले कार्यालयको गेटमा धर्ना दिएका हुन् ।
नेपाल शिक्षक केन्द्रिय महासंघले गत चैत्र २० गते देखि जारी काठमाडौं केन्द्रित आन्दोलनलाई समर्थन गर्दै शिक्षक महासंघ बढैयातालले बुधबार देखि धर्ना कार्यक्रम सुरु गरिएको जनाएको छ ।
बढैयाताल शिक्षक महासंघका अध्यक्ष राजेश्वर थायाको नेतृत्वमा करिब १ सय शिक्षक शिक्षिकाहरु धर्नामा सहभागी रहेका थिए । शिक्षकको माग पूरा नभएसम्म धर्ना लगायतका आन्दोलनका कार्यक्रम जारी रहनुका साथै बिधालयको पठनपाठन लगायतका सम्पुर्ण कार्य बन्द रहने आन्दोलनमा सहभागी शिक्षकहरुले जनाएका छन् ।
बुधबार देखि शिक्षकहरुले गाउँपालिकामा हाजिर रजिस्टर तयार गरि हाजिरसमेत गरेका छन् । माग पुरा नभएसम्म शान्तिपुर्ण धर्नामा बस्ने कार्यक्रम जारी रहने आन्दोलन परिचालन समितिका संयोजक राजेश्वर थापाले जानकारी दिए ।