ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ठाकुरबाबा मन्दिर : विकासको प्रतिक्षामा
बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित

दिनेश ठाकुर

बर्दिया,बैशाख १० / बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–५ स्थित ठाकुरबाबा मन्दिर ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थल हो । धार्मिक आस्थाका साथसाथै सांस्कृतिक परिचयको प्रतीकसमेत रहेको यस मन्दिरबारे थप जानकारी लिन हामीले मन्दिर व्यवस्थापन विकास समितिका अध्यक्ष रुद्र बहादुर खड्कासँग कुराकानी गरेका छौं ।

ऐतिहासिक पृष्ठभूमि र जनश्रुति

ठाकुरबाबा मन्दिरको स्थापना सम्बन्धी स्पष्ट ऐतिहासिक दस्तावेज नभए पनि जनश्रुति अनुसार यो मन्दिर दशौं शताब्दीको पुरानो मानिन्छ । अध्यक्ष खड्काका अनुसार, मन्दिरको सुरुवात सानो कुटीबाट भएको हो र समयसँगै भौतिक निर्माण हुँदै वर्तमानको स्वरूपमा आएको हो । मन्दिरको ऐतिहासिकता मुख्यतया किम्बदन्ती र स्थानीयको विश्वासमा आधारित छ ।

धार्मिक महत्त्व र पूजापद्धति

यस मन्दिरमा विष्णु भगवानको मूर्ति स्थापना भएकाले विष्णु भगवानकै रूपमा ठाकुरबाबालाई पूजा गरिन्छ । मन्दिरमा नियमित रूपमा आरती र पूजापाठ हुने गर्छ ।

मुख्य चाडपर्व र मेला

ठाकुरबाबा मन्दिरमा विशेषगरी माघी पर्व भव्य रूपमा मनाइन्छ । मागे संक्रान्तिका अवसरमा ठूलो मेला लाग्ने परम्परा छ । हाल नयाँ वर्ष लगायत अन्य पर्वहरूमा समेत पूजा तथा मेलाहरू लाग्ने गरेका छन् ।

व्यवस्थापनको अवस्था

मन्दिर व्यवस्थापन समिति औपचारिक रूपमा २०५६ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । माघी मेलाबाट संकलन हुने आम्दानी र विभिन्न भक्तजनबाट प्राप्त हुने दानदक्षिणा नै मुख्य आर्थिक स्रोत हुन् । प्राप्त आम्दानी मन्दिरका पूर्वाधार विकासमा खर्च गरिन्छ ।

संरक्षण र समन्वयको प्रयास

मन्दिरको वरिपरि करिब २५ बिघा (१५ हेक्टर) क्षेत्रफल रहेको छ, जुन हाल बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको धार्मिक वनका रूपमा लिइएको छ । यस क्षेत्रलाई संरक्षण गर्न तारबार लगाइएको छ भने आन्तरिक व्यवस्थापनको काम अघि बढाइएको छ ।

स्थानीय तहसँगको समन्वयमा समस्या

व्यवस्थापन समितिले ठाकुरबाबा नगरपालिकासँग आम्दानी र खर्चको व्यवस्थापनका लागि सहमति गरेको भए पनि विगत तीन वर्षदेखि आम्दानी नगरपालिका मार्फत उठाइए पनि खर्च प्रदान नगरिएको अध्यक्ष खड्काको गुनासो छ । समितिले आफ्नै स्रोत र व्यक्तिगत सहयोगमा मन्दिर सञ्चालन गरिरहेको छ ।

धार्मिक पर्यटनको सम्भावना र योजना

अध्यक्ष खड्काका अनुसार ठाकुरबाबा मन्दिरलाई धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्ने सम्भावना अपार छ । प्रचारप्रसार र पूर्वाधार निर्माणमा ध्यान दिन सके यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बनाउन सकिनेछ । मन्दिर परिसरमा खुला योगशाला, देवी मन्दिर, आरती स्थल, कुण्डको व्यवस्थापन र टायल लगाउने कामहरू अगाडि बढाइँदैछ ।

बर्दिया राष्ट्रिय निकुञ्जसँगको सम्बन्ध

स्थापना कालमा मन्दिर संरक्षणमा सक्रिय भूमिका खेलेको निकुञ्ज अहिले भने व्यवस्थापनमा चासो नदिएको अध्यक्ष खड्काको भनाइ छ । धार्मिक–प्राकृतिक पर्यटनको सम्भावना भए पनि समन्वय अभावमा यसको लाभ लिन नसकिएको अवस्था छ ।

पर्यटकका लागि आवश्यक सुविधाहरू

पुरातात्विक महत्वका सामग्रीहरूको संरक्षण, अनुसन्धान, व्यवस्थित पूजा स्थल र धार्मिक गन्तव्यस्थल निर्माण जस्ता विषयमा प्राथमिकता दिइनुपर्ने अध्यक्ष खड्काको सुझाव छ ।

स्थानीय सहभागिता र सामाजिक प्रभाव

मन्दिरको धार्मिक क्रियाकलापले स्थानीय समुदायमा धर्म र संस्कृतिप्रति जागरूकता बढाएको छ । थारु समुदायसहित स्थानीय बासिन्दाहरू मन्दिरको संरक्षण र विकासमा सक्रिय रूपमा संलग्न छन् ।

मुख्य चुनौती र भविष्यका प्राथमिकता

मुख्य चुनौती आर्थिक स्रोतको अभाव रहेको समितिको भनाइ छ । स्थानीय सरकारबाट अपेक्षित सहयोग नपाएको र कोषको स्थायीत्व नरहेको अवस्थामा व्यक्तिगत सहयोगमा मन्दिर सञ्चालन भइरहेको छ । भविष्यमा मन्दिरको संरक्षण, प्रचारप्रसार, पूर्वाधार विकास र धार्मिक वातावरण विस्तारमा समितिले प्राथमिकता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय