दिनेश ठाकुर
बर्दिया,बैशाख १०/ बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चाप दिनानुदिन बढ्दै गएको छ । यस आर्थिक वर्ष २०८१÷०८२ को चैत महिनासम्म मात्रै २२ हजार ३ सय ७ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । तीमध्ये ५ हजार ९ सय २४ जना विदेशी, १ हजार ५९ जना सार्क राष्ट्रबाट र १५ हजार ३ सय २४ जना नेपाली पर्यटक रहेका छन् ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता र दुर्लभ बन्यजन्तुहरूको कारणले बर्दिया राष्ट्रिय निकुञ्ज देश तथा विदेशका पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ । पछिल्ला दिनहरूमा विशेषगरी पाटेबाघ देखिन थालेपछि पर्यटकको आकर्षण झन् बढेको हो । अहिले निकुञ्जमा दैनिक रुपमा पाटेबाघ देखिन थालेका छन्, जसले पर्यटकहरूलाई विशेष रूपमा लोभ्याएको छ ।
सन् २०२२ को गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ वटा पाटे बाघ रहेको तथ्यांकले देखाउँछ । यो संख्या नेपाल भरका अन्य निकुञ्जहरूसँग तुलना गर्दा उच्च मानिन्छ । बाघ जस्ता दुर्लभ बन्यजन्तु सहज रूपमा देखिनु अत्यन्तै दुर्लभ मानिन्छ, तर बर्दियामा पछिल्लो समय यो सम्भव बनेको छ ।
निकुञ्जसँग सम्बन्धित अधिकारीहरूका अनुसार पाटे बाघ देखिएको खबर फैलिएपछि पाटेबाघ हेर्नकै लागि विदेशी पर्यटकहरू बर्दिया आउने गरेका छन् । विशेषगरी जंगल सफारी र गाइडसहितको जंगल वाकमार्फत पाटे बाघको अवलोकन सम्भव भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरूले विभिन्न किसिमका रोमाञ्चक तथा सांस्कृतिक गतिविधिमा सहभागिता जनाउने गरेका छन् । जंगल वाक, चरा अवलोकन, जंगल सफारी, राफ्टीङ,क्याम्पिङ,फिसिङ र कलचर एक्टीभिटिसलगायतका कार्यक्रमहरू पर्यटकका लागि प्रमुख आकर्षण बनेका छन् ।
जंगल वाक र ड्राइभको क्रममा बाघ, गैँडा, भालु, हात्ती, चितुवा, निलगाई, बँदेल, मृगलगायतका बन्यजन्तुको अवलोकन गर्न सकिन्छ । त्यसैगरी, रंगीचंगी चराहरूको अवलोकन गर्न चाहने चरा प्रेमीहरूका लागि बर्दिया उपयुक्त गन्तव्य हो ।
पर्यटन वृद्धिसँगै बर्दिया क्षेत्रका स्थानीय बासिन्दाहरूको आय आर्जनमा समेत उल्लेख्य सुधार आएको छ । विशेषगरी होमस्टे सञ्चालन, गाइड सेवा, हातकलाका सामग्रीहरू बिक्री वितरण तथा सांस्कृतिक कार्यक्रम मार्फत स्थानीय समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
स्थानीय महिलाहरू मिलेर तयार गरेका थारु नाच, परम्परागत भेषभूषा, खाना तथा जीवनशैली पर्यटकहरूका लागि अतिरिक्त आकर्षण बनेका छन् । यसले पर्यटकलाई साँस्कृतिक अनुभव दिनुका साथै थारु समुदायको पहिचान प्रवद्र्धन गर्न पनि सहयोग पुगेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न विदेशी पर्यटकले प्रतिव्यक्ति १५ सय सार्क देशका नागरिकले ७ सय ५० र नेपाली नागरिकले १ सय रुपैयाँ प्रतिदिन शुल्क तिर्नुपर्छ । यसरी उठेको रकम निकुञ्जको संरक्षण, पूर्वाधार निर्माण तथा बन्यजन्तु व्यवस्थापनमा प्रयोग गरिन्छ ।
निकुञ्ज व्यवस्थापनले संरक्षण र पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाउँदै आएको छ । संरक्षणका लागि गस्ती सुदृढीकरण, निगरानी क्यामेरा, पाटेबाघ ट्र्याकिङ, आगलागी नियन्त्रण, मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरण लगायतका प्रयासहरू जारी छन् ।
यद्यपि पर्यटकको संख्या बढ्दै गएको भए पनि पूर्वाधार, प्रचार प्रसार तथा गन्तव्यसम्मको पहुँच अझै सुधार गर्नु जरुरी देखिन्छ । बर्दिया पुग्न लामो यात्रा तय गर्नुपर्ने, वायुसेवा सिमित हुनु, पर्याप्त स्तरीय होटलको अभाव जस्ता चुनौतीहरू अझै समाधान हुन सकेका छैनन् ।
यसका साथै, निकुञ्ज क्षेत्रमा हुने मानव बन्यजन्तु द्वन्द्वले कहिले काहीँ समस्या निम्त्याउने गरेको छ । त्यसलाई न्यूनीकरण गर्न स्थानीय तह, निकुञ्ज प्रशासन र नागरिक समाजको समन्वय अपरिहार्य छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज केवल बन्यजन्तु अवलोकनको थलो मात्र होइन, यो नेपालको जैविक सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको एक अनुपम गन्तव्य हो । यहाँको पर्यटन सम्भावना अझै ठूलो छ, जुन उचित योजना, पूर्वाधार विकास र प्रचारमार्फत विस्तार गर्न सकिन्छ । पाटे बाघ जस्ता दुर्लभ बन्यजन्तुको उपस्थितिले बर्दियालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर सृजना गरिरहेको छ । त्यसैले, संरक्षण र पर्यटन बीचको सन्तुलन कायम राख्दै बर्दिया राष्ट्रिय निकुञ्जलाई दिगो पर्यटनको नमूना बनाउन सके यसले स्थानीय समृद्धि र राष्ट्रिय पहिचानमा ठूलो योगदान पु¥याउने निश्चित छ ।