मान बहादुर चौधरी
बर्दिया,बैशाख १४/ शसस्त्र द्वन्द्वको क्रममा सुरक्षार्कीको टोलीले वेपत्ता पारिएका हरि बहादुर थारुको परिवारले २२ वर्षपछि कुँशको शव बनाएर अन्त्येष्टि गरेका छन् । लामो समय पर्खिदा राज्यले सत्य तथ्य सार्वजनिक नगर्दा अघिल्लो साता पिडित परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् ।
हरि बहादुरका दाजु राधेश्याम थारुका अनुसार साविक धधवार गाविस–८ हाल बारबर्दिया नपा ११ बेलभारका २० वर्षीय हरि बहादुर थारुलाई २०६० पुस २३ गते बाँके जिल्लाको साविक नेपालगंज नपा ४ त्रिभुवन चोकबाट शाही नेपाली सेनाले कब्जामा लिएर बाँकेकै राँझा एयरपोर्टमा रहेको आर्मी पोष्टमा लगेर राखेको थियो । राँझामा रहेको आर्मी पोष्टबाट २०६० माघ २७ गते बर्दिया राष्ट्रिय निकुञ्जको पूर्वी चिसापानीमा रहेको आर्मी पोष्टमा लगेको थियो ।
हरि बहादुर २०५९ सालमा तत्कालीन विद्रोही नेकपा (माओवादी) पार्टीको पूर्णकालीन कार्यकर्ता भई राजनितिक गतिविधीमा संलग्न सक्रिय रहेको थिए । बाँके प्लस बर्दियाका जिल्ला इन्चार्ज महेश्वर गहतराज (क. अथक) को अंगरक्षक हुदै जनमुक्ति सेनाको सदस्यको भूमिकामा काम रहेको थिए । सोही क्रममा बाँकेको नेपालगञ्जमा ०६० साल पौष २३ गते तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरी बेपत्ता पारेको थियो ।
जाडोको समय हल्का कुहिरो लागेको थियो ।
हरि बहादुर २०६० पौष २३ गते दिउँसोे पार्टी कामको सिलसिलामा त्रिभुवन चोक नेपालगञ्ज पुगेका थिए । दिउँसो करिव १२ बजे एक्लै त्रिभुवन चोकमा साईकल लिएर हिडिरहेको बाँकेको राँझा आर्मी ब्यारेकको नेतृत्वको शाही नेपाली सेना र शसस्त्र प्रहरी बल रहेको संयुक्त टोलीे नियन्त्रणमा लिई सेनाको ब्यारेकमा लगेको थियो । ब्यारेकमा उनलाई एक हप्तासम्म राखेको थियो । हालसम्म उनको अवस्था अज्ञात छ ।
दाजु राधेश्याम चौधरीले भने, ‘भाई बेपत्ता पारिएपछि, मनोवैज्ञानिक प्रभावले हरेक चाडपर्व मनाउन कठिनाई हुने गरेको छ । चाडपर्वहरुमा वेपत्ता भाईको यादले सताईरहन्छ । सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगर्दा परिवारले धार्मिक संस्कार अनुसार काजक्रिया गर्न सकेका थिएनौ । हामी सबै भाई घर छुट्टिएका छौ । काजक्रिया कसले गर्ने ? कसरी गर्ने ? भन्ने पनि समस्या भोग्यो ।’
दाजु राधेश्याम चौधरीले थपे,‘भाई फर्किन्छ की भनेर २२ वर्ष सम्म कुरेर बस्यो । न भाई आफै आयो । न त सरकारले कुनै जवाफ दिएको छ । सरकारले सामाजिक न्याय र सहयोगका साथै आत्मसन्तुष्टिका लागि भए पनि अन्तिम संस्कार कार्यको लागि सहजीकरण र सहयोग गर्नुपथ्र्यो । तर बर्ष २२ पुग्दा पनि कुनै जवाफ पाउन सकेनौ । अन्तत घर सल्लाह अनुसार भार्ईको थारु संस्कार अनुसार कुशको शव बनाएर अन्त्येष्टि गर्न बाध्य भयौं ।’
सुरक्षाकर्मीले हरिरामलाई पक्राउ गरी वेपत्ता बनाएपछि उनको परिवारले विभिन्न ब्यक्ति र संस्थासँग वेपत्ता ब्यक्तिलाई पत्ता लगाईदिन अनुरोध गरेको थियो । विभिन्न मितिमा मानव अधिकारवादी संघ सस्थाहरु आइसीआरसी, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेकमा घटना दर्ता गरेका थिए । तर कुनै निकायले पीडित परिवारलाई कुनै किसिमको जवाफ दिन सकेको छैन । अन्तरिम राहत हरिरामको परिवारले १० लाख राहत प्राप्त गरेको छ । उनको परिवारले बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगमा २०७३ जेठ १५ गते उजुरी दिएको छ । वेपत्ता आयोगले पनि हालसम्म उजुरीको जवाफ दिन सकेको छैन ।