बर्दिया,बैशाख २२(फरकसमाचार) / साइबर सुरक्षा र डिजिटल सुरक्षा सम्बन्धि विद्यार्थीलाई सचेतना गराईएको छ । कम्प्युटर एसोसियसन नेपाल महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको सहकार्यमा गुलरिया नगरपालिका–५ स्थित रहेको लिटिल हेभन इंग्लिस बोडिङ्ग स्कुलका विद्यार्थीलाई शुक्रबार साइबर सुरक्षा बारे सचेत गराईएको हो ।
राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवसको अवसरमा विद्यार्थीलाई सचेतना गराईएको छ । साइबर सुरक्षा सचेतना कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
पछिल्लो समयमा साइबर क्राइमका घटना बढिरहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘यस सचेतना मुलक कार्यक्रमले विद्यार्थी भाईबहिनीहरुलाई साइबर सुरक्षाको बारेमा जागरुक बनाउनेछ,’उनले भने,‘प्रशिक्षकले सिकाएको कुरा राम्रोसंग मनन् गर्नुहोला ।’
सामाजिक संजाल फेसबुक, डिजिटल डाटा कसरी सुरक्षित बनाउने, साइबर सुरक्षा भनेको के हो र ह्याक हुनबाट कसरी बच्नेलगायतको बारेमा विद्यार्थीहरुलाई सचेत गराईएको कम्प्युटर एसोसियन नेपाल महासंघ बर्दियाका संस्थापक अध्यक्ष तथा प्रशिक्षक प्रशान्त टन्डनले बताए ।
सचेतना कार्यक्रममा गुलरिया नगरपालिका–६ का वडा अध्यक्ष सुधांन्शु प्रकाश शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष निर्मल घिमिरे, कम्प्युटर एसोसियन महासंघ लुम्बिनी प्रदेशका सचिव गोपाल निरौला, सदस्य सुर्य केसी, बर्दियाका अध्यक्ष दिल बहादुर चौधरीलगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।