शिक्षा नीति र योजना सम्बन्धि मस्यौदा प्रस्तुत
बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित

बर्दिया,बैशाख २४ / मधुवन नगरपालिकाको शिक्षा नीति र योजना सम्बन्धि मस्यौदाको प्रस्तुती, अध्ययन, पृष्ठपोषण एवम् अन्तिम मस्यौदा निर्माण कार्यशाला सम्पन्न भएको छ । शैक्षिक योजना २०८२–२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदा माथि मधुवन नगरपालिकाका नगर प्रमुख तथा शिक्षा समिति संयोजक तेज बहादुर भाटको अध्यक्षतामा सोमबार कार्यशाला सम्पन्न भएको हो ।

कार्यदलबाट उपलब्ध गराईएको प्रस्तावित मस्यौदा उपर कर्णाली प्रदेश शिक्षा समिति सदस्य जित बहादुर शाहद्वारा प्राविधिक सहयोग गर्दै प्रस्तुतीकरण गरिएको थियो । शिक्षा योजना र नीतिको अन्तिम उद्देश्य भनेको नगरभित्रको शिक्षा स्तर र सिकाइ उपलब्धिमा सुधार ल्याउनु, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याई उनीहरूको शिक्षाको आधारभूत अधिकार सुनिश्चित गर्नु, शिक्षक दरबन्दी समायोजन गर्नु र गुणस्तरीय शिक्षाको प्रवाह गर्नु हो ।

थप सुझाव संकलन गर्न मस्यौदा नगरपालिकाको वेबसाइटमा अपलोड गरिनेछ । शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालका अनुसार प्राप्त भएका महत्वपूर्ण सुझावहरू समेटेर कार्यपालिका बैठकमा छलफल गरी अन्तिम नीति प्रकाशित गरिनेछ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र भेरी इन्भाइरोमेन्टल स्पेसियलिटी ग्रुप (बी–ग्रुप) को सहकार्यमा कार्यक्रम मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको थियो । यो कार्यक्रम मधुवन नगरपालिकामा गठित कार्यदलको लामो छलफलबाट तयार गरिएको प्रस्तावित मस्यौदालाई थप व्यापक बनाउन आवश्यक सुझाव र बहसद्वारा अन्तिम रूप दिन केन्द्रित थियो ।

कार्यक्रममा मधुवन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरी, वडा अध्यक्षहरू, शिक्षा विज्ञहरू, प्याब्सन प्रतिनिधि, शिक्षक संघ संगठन, विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

सहजकर्ता द्वारा प्रस्तुतीकरण मस्यौदालाई समूहगत रुपमा ब्यापक छलफल गर्नका लागि बाँके युनेस्को क्लवका उप निर्देशक गोबन्द प्रसाद लामिछाने र बि ग्रुपका शिक्षा प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले छलफलमा सहजता ल्याउन र सुझाव संकलनका लागि महत्त्वपूर्ण भुमिका रहेको नगर प्रवक्ता मेक बहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय