आहाराको खोजीमा बस्ती पस्न थाले चितुवा
बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित

बर्दिया,बैशाख २४ / वैशाख १५ गते गुलरिया नगरपालिका–८ स्थित सर्यु सामुदायिक वनमा ९ वर्षीया मेलिना खड्कालाई चितुवाले आक्रमण गर्दा मृत्यु भयो । गेरुवा गाउँपालिका–६ बस्ने मेलिना गुलरियास्थित काकीको घर आएकी थिइन् । घाँस, दाउरा बटुल्न काकीसँगै वन गएका बेला उनले ज्यान गुमाउनुपर्‍यो ।

पछिल्लो पटक चैत ३० गते बारबर्दिया नगरपालिका–४ की ४० वर्षीया उर्मिला थारु पनि चितुवाको आक्रमणमा परिन् । दाउरा संकलनका लागि जिराहा सामुदायिक वनमा काठ संकलन गर्न जाँदा चितुवाले आक्रमण गरेको थियो ।

चैत २० गते गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सर्जन चौधरी हजुरआमासँग मकैबारीमा गएका थिए । उनी पनि चितुवाको आक्रमणमा परे । उनको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गहुँ काट्न गएका गुलरिया–४ का ६४ वर्षीय विखु थारुलाई पनि चितुवाले आक्रमण गरी घाइते बनायो । उनलाई चैत ३१ गते खेतमा चितुवाले आक्रमण गरेको थियो । यस्तै, चैत ९ गते मधुवन नगरपालिका–४ गमक्कामा आँगनमा खेलिरहेका ४ वर्षीय शिवम थारु पनि चितुवाको आक्रमणबाट घाइते भए । यी दुवै घटनामा परिवार अन्य सदस्यले प्रतिकार गरेपछि घाइते बनाएर चितुवा भागेको थियो ।

मंसिरयता चितुवाको आक्रमणमा दुईको मृत्यु र ११ जना घाइते भएका छन् । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले गत माघ २५ गते मधुवन–९ गंगा बस्तीमा चितुवाको आक्रमणबाट बाँके डुढुवा गाउँपालिका–६ का रिहानको मृत्यु भएको थियो । साँझपख आँगनमा खेलिरहेको अवस्थामा रिहानलाई चितुवाले मारेर खेतमा छाडेको थियो । माघ २५ गते मधुवन–७ की जुनाकुमारी लामिछाने क्षेत्रीको चितुवाको आक्रमणमा परी मृत्यु भएको उनले बताए ।

गत माघ १० गते राजापुर–८ पुरैना गाउँमा चितुवा पसेर ५९ वर्षीय विललु थारुलाई घाइते बनायो । गत मंसिरमा मात्रै चितुवा आक्रमणमा चार घटना भएका थिए । शिव सामुदायिक वन क्षेत्रमा गएका मधुवन–८ का ४६ वर्षीय महम्मद अली, मंसिर २९ मा ठाकुरबाबा–४ की झुठरी थरुनी, राजापुर–८ पुरैनाका ६४ वर्षीय लाटा थारु, मंसिर १३ मा शिवनगर टोलकी ३४ वर्षीया ममता तिरुवा चितुवाको आक्रमणबाट घाइते भएको डिभिजन वन कार्यालयको तथ्यांक छ ।

बर्दियामा चितुवा आक्रमणका अधिकांश घटना नेपाल–भारत सिमावर्ती क्षेत्रको मधुवन नगरपालिका आसपासमा भएको छ । मधुवन, गुलरिया र राजापुर नगरपालिकासँग जोडिएको भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्ष पर्छ ।

दुई वर्षयता गुलरिया र मधुवन क्षेत्रमा चितुवा आक्रमणका घटना बढ्दै गएका छन् । भारतीय सीमासँग जोडिएको कतरनियाघाट आरक्ष भएका कारण गुलरियाको टेपरीलगायत क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेको स्थानीय बताउँछन् ।

टेपरीका धनेश गोडियाका अनुसार चितुवाले बाख्रा, कुकुरलगायत जनावर समेत मार्ने गरेकोले स्थानीय त्रसित भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा आहारा कम हुँदै गएकाले चितुवा बस्तीमा प्रवेश गर्न थालेको संरक्षणकर्मी बताउँछन् । प्रमुख सुवेदीले चितुवाको स्वभाव, आहारको कमी र वन क्षेत्रमा बाघका कारण बाहिर निस्कन गरेको बताए ।

बर्दियामा चितुवाको संख्या यकिन छैन । यसको गणना पनि गरिएको छैन । बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तम्बा हाम्फेले आहाराको कमी सँगै भारतीय वन कर्मचारीले कतरनियाघाट आरक्षमा समस्याग्रस्त चितुवा छाडेकाले पनि बर्दियाका गाउँबस्तीमा पसेको एक अध्ययनले जनाएको बताए ।

दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण क्षेत्रनजिक रहेको सामुदायिक वनमा ३ देखि ४ वटा चितुवा रहेको अनुमान छ । ती चितुवाले बर्सेनि दर्जन बढी कृष्णसारलाई मार्ने गरेको छ । पाँच वर्षअघि बर्दिया निकुञ्जले एउटा चितुवा यस क्षेत्रबाट डार्ट गरी निकुञ्जमा छाडिएको थियो । बर्दिया निकुञ्जका प्रमुख अशोक रामले आहाराकै कारण चितुवा वन छाडेर बस्ती क्षेत्रमा प्रवेश गर्ने गरेको बताए । डिभिजन वन कार्यालयले बाख्रासहित खोर राखी चितुवा नियन्त्रणमा लिने प्रयास गरेको छ । एक महिनादेखि राखिएको खोरमा चितुवा नियन्त्रणमा आउन सकेको छैन ।स्रोत ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय