अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयुक्त माग पूरा हुन्छ
आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित

काठमाडौं, वैशाख २८  / उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो जानकारी दिएका हुन् ।उनले भने, ‘निजी क्षेत्रको मनोबल नबढाई, रोजगारी सिर्जना नगरी अर्थतन्त्र राम्ररी अगाडि बढ्न सक्दैन ।’

त्यसैले उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि सरकार क्रियाशील रहेको उनको भनाइ छ । ‘अहिलेको सरकार निजी क्षेत्रका कुरा सुन्नका लागि, समस्या समाधानका लागि व्यग्र छ,’ मन्त्री पौडेलले भने । यसमा उनले दुईवटा उदाहरण समेत दिए । पहिलो उदाहरणको रुपमा उनले सरकार बनेलगत्तै अर्थतन्त्रको सिथिलता कसरी चिर्ने भनेर छलफल गरी कानुनी व्यवधान अध्यादेशको माध्यमबाट सम्बोधन गर्ने कोसिस गरेको जानकारी गराए ।

दोस्रो उदाहरणको रुपमा भने उनले निजी क्षेत्रको समस्या सम्बोधन गर्न कानुन संशोधनको प्रक्रियाबाट मात्रै पनि पर्याप्त नहुने भन्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको जानकारी गराए । निजी क्षेत्रको समेत प्रतिनिधित्व भएको सो आयोगले दिएका सुझावलाई क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाए । बजेटको माध्यमबाट, कानुनको माध्यमबाट र कार्यकारी निर्णयको माध्यमबाट क्रमशः माग सम्बोधनको प्रयास गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाए ।

कतिपय सुझाव उपयुक्त भए पनि सम्भव नहुने र कतिपय सभ्व भए पनि उपयुक्त नहुने भन्दै मन्त्री पौडेलले भने, ‘सम्भव र उपयुक्त सुझाव ग्रहण गर्नका लागि मेरो प्रयास रहने छ । म यहाँहरुलाई यो बचन दिन पनि चाहन्छु ।’अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय