संरक्षण सेवा प्रदायक निकाय बिच अन्तरक्रिया
सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित

बर्दिया,बैशाख २९(फरकसमाचार) / जिल्ला स्थित संरक्षण सेवा प्रदायक क्षेत्रमा कार्यरत विभिन्न सरोकारवाला निकायहरु बिच अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवद्वारा संचालित शसक्त बालिका परियोजना अन्तर्गत आइतबार बैठक सम्पन्न भएको हो । बैठकमा संरक्षण सम्बन्धि काम गर्ने निकायहरुको सहभागिता रहेको थियो । महिला तथा बालबालिकालाई कसरी सुरक्षित गर्न सकिन्छ,त्यसैगरि हिंसामा परेकालाई कसरी उद्दार र न्याय दिलाउन सकिन्छ भन्ने विषयमा बैठकमा बृहत छलफल गरिएको छ ।

ओसिएमसीले लैङ्गिक हिंसामा परेका पिडितलाई निःशुल्क रुपमा प्रभावकारी सेवा दिईरहेको बर्दिया अस्पताल ओसिएमसीकी सम्पर्क व्यक्ति सपना बाठा मगरले बताईन् । चालु आर्थिक वर्षको फागुनसम्म १ सय १८ जना लैङ्गिक हिंसामा परेका पिडितहरु अस्पतालको ओसिएमसीबाट लाभान्वित भएको जनाउँदै ओसिएमसीले गरिरहेको कार्यसम्पादनको बारेमा मगरले प्रस्तुतीकरण गरेकी थिईन् ।

बाल संरक्षण क्षेत्रमा कार्यरत सेवा प्रदायक संस्थाहरु बिच घटना व्यवस्थापनलाई कसरी सरलता र प्रभावकारी न्याय निरोपणमा सहजता ल्याई पिडितलाई समयमा निःशुल्क रुपमा सेवा प्रवाह गर्नका लागि सबैको सकारात्मक सहयोग र सहकार्यको लागि बैठक संचालन गरिएको बाँके युनेस्को क्लवका उप–निर्देशक गोविन्द प्रसाद लामिछानेले जानकारी दिए ।

पालिकाको सिमित बजेटले महिला तथा बालबालिकाको क्षेत्रलाई सम्बोधन गरिरहेको गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले बताईन् । बैठकमा जिल्ला न्यायाधिवक्ता कर्ण बहादुर बुढाक्षेत्री, बारएशोसिएसनका अध्यक्ष खडानन्द तिवारीलगायत संरक्षण सेवा प्रदायक क्षेत्रमा कार्यरत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय