भ्रष्टाचार : राष्ट्रलाई भित्रैबाट सडाउने रोग
मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित

बर्दिया,बैशाख ३०/ आजको नेपालमा भ्रष्टाचार केवल केही नेताहरूको रोग मात्र रहेन । यो अब सामान्य कर्मचारीदेखि साधारण जनता, समाजका हरेक तह र तप्काका मानिसहरूमा व्याप्त भइसकेको छ । कार्यालयका कुनाबाट गाउँका चौतारीसम्म, बजारका व्यापारिक लेनदेनदेखि सरकारी बजेटको वितरणसम्म—प्रायः हरेक क्षेत्रमा कुनै न कुनै रूपमा भ्रष्टाचार जरा गाडेर बसेको छ । यो रोग यति गहिरो भइसकेको छ कि अब यसले हाम्रो सामाजिक संरचना, आर्थिक वृद्धि, र राजनीतिक स्थायित्वलाई नै भित्रैबाट सडाइरहेको छ ।

यस अवस्थामा अब पनि हामी चुप लागेर बस्ने ? सडेको सिस्टम बदल्न हामीले केही गर्नु पर्दैन ? यो गम्भीर प्रश्न हो, जसको उत्तर दिन अब ढिलो भइसकेको छ । अब समय आएको छ—कुरा मात्र होइन, कदम चाल्ने । भ्रष्टाचार विरुद्ध बोलौँ, लेखौँ, देखे तुरुन्त उजुरी गरौं । किनभने यदि हामीले आज नै यो लडाइँ सुरु गरेनौँ भने भोलि हामी हाम्रो सन्ततिलाई एउटा जर्जर, असफल राष्ट्र हस्तान्तरण गर्न बाध्य हुनेछौँ ।

भ्रष्टाचारको प्रभाव : समाजको हरेक तहमा असर

भ्रष्टाचारले हामीलाई आर्थिक मात्र होइन, सामाजिक र नैतिक दृष्टिले पनि कमजोर बनाइरहेको छ । शिक्षा क्षेत्रमा घुस नदिएसम्म सेवा नपाइने अवस्था, स्वास्थ्य क्षेत्रमा बिरामीको उपचारभन्दा पैसा प्राथमिकता पाउने प्रवृत्ति, रोजगारीका अवसरहरूमा योग्यता भन्दा पहुँच र पैसाको हिसाब—यी सबै भ्रष्टाचारका रूपहरू हुन्, जसले योग्य र इमान्दार नागरिकलाई निराश बनाउँदै देश छोड्न बाध्य बनाइरहेका छन् ।

राष्ट्रको विकासका लागि इमान्दार र निष्ठावान् व्यक्तिहरूलाई काम गर्ने वातावरण चाहिन्छ । तर अहिलेको अवस्था हेर्दा यो सम्भावना कमजोर देखिन्छ । किनकि जो इमान्दार भएर अगाडि बढ्छ, उसलाई यो सडेको सिस्टमले सजिलै टिक्न दिँदैन । उसमाथि अनावश्यक दबाब, राजनीतिक हस्तक्षेप र चरित्र हत्या गरिन्छ ।

इमानदार नेतृत्वको खाँचो : बालेन र कुलमान घिसिङको उदाहरण

यही अवस्थामा बालेन शाह र कुलमान घिसिङजस्ता इमान्दार र दूरदृष्टि भएका नेताहरूको उदाहरण हामीसँग छ । बालेनले काठमाडौंको नगर प्रमुखको रूपमा भ्रष्ट प्रणालीविरुद्ध बोल्ने र काम गर्ने साहस देखाए । कुलमान घिसिङले विद्युत् क्षेत्रको पुरानो रोग लोडसेडिङ अन्त्य गर्दै समृद्धिको नयाँ ढोका खोले। यस्ता उदाहरणहरूले प्रमाणित गर्छन् कि इमान्दार नेतृत्वले चाहेमा परिवर्तन सम्भव छ ।

तर, यी व्यक्तिहरू एक्लाएक्लै लड्दै गर्दा धेरैपटक संस्थागत शक्तिहरूको प्रतिकार सामना गर्नुपर्यो । त्यसैले अब समय आएको छ कि यस्ता इमान्दार र दूरदृष्टि भएका नागरिकहरू सहकार्य र समन्वय गरी राष्ट्र जोगाउने अभियानमा जुटून् । उनीहरूलाई विभिन्न निकाय, संघ–संस्था तथा राजनीतिक दलहरूमा बाध्य भएर बस्न नदिई संगठित गर्न जरुरी देखिन्छ ।

राष्ट्रिय स्तरमा शुद्धीकरण अभियानको आवश्यकता

देशभित्र स्वतन्त्र रूपमा निर्वाचित भई जनहितका कार्य गर्दै लोकप्रिय बनेका इमान्दार व्यक्तिहरूलाई पनि अब यस अभियानमा समेट्न आवश्यक छ । भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै देशलाई सही मार्गमा अघि बढाउन समर्पित सबै इमान्दार व्यक्तिहरू एकजुट हुन आवश्यक छ ।

यो केवल केही व्यक्तिहरूको आन्दोलन होइन, अब यो हरेक सचेत नागरिकको अभियान हुनुपर्छ । पत्रकार, शिक्षक, चिकित्सक, इन्जिनियर, युवा, महिला, किसान, श्रमिक—सबैले मिलेर अब राष्ट्र शुद्धीकरणको साझा लडाइँ लड्नुपर्छ ।

नागरिकको भूमिका : सानो काम, ठूलो परिवर्तन

तपाईंले गरेको सानो काम पनि ठूलो परिवर्तनको सुरुवात हुन सक्छ । कार्यालयमा घुस नदिने निर्णय, भ्रष्टाचार देखे उजुरी गर्ने साहस, इमान्दार उम्मेदवारलाई मत दिने चेतना, सामाजिक सञ्जालमार्फत गलत कार्यको भण्डाफोर गर्ने सक्रियता—यी नै साना–छोटा कदमहरू हुन्, जसले देशव्यापी लहर बनाउन सक्छ ।

सिस्टम बदल्ने कुरा भाषणमा सजिलो छ, तर व्यवहारमा कठिन। किनभने यो सिस्टम परिवर्तनको लागि निरन्तर संघर्ष, साहस, र धैर्य चाहिन्छ । इतिहास हेर्दा पनि परिवर्तन कहिल्यै सजिलै आएको छैन । तर, यदि हामीले आजबाट नै सुरु गर्यौं भने परिवर्तन असम्भव छैन ।

एकताबद्ध हुने बेला : अभियान राष्ट्र बचाउने

अब देशभित्र सुशासन र विकासका लागि समर्पित सबै इमान्दार व्यक्तिहरू एकजुट हुन आवश्यक छ । अबको लडाइँ भ्रष्टाचारविरुद्ध मात्र होइन, यो देशको भविष्य जोगाउने लडाइँ हो । हाम्रा सन्तानहरूले सुशासनयुक्त, अवसरसहितको समृद्ध नेपाल पाउन सकून् भनेर हामीले आज संघर्ष गर्नुपर्छ ।

राष्ट्र बचाउने अभियानमा सहभागी भई सबै एकताबद्ध बनौँ । जनताको सशक्त समर्थनसहित इमान्दार र सक्षम नेतृत्वलाई अगाडि ल्याऔं ।
अब निर्णय तपाईंको हातमा छ—सडेको सिस्टमको हिस्सा बन्ने कि यो सिस्टम नै बदल्ने ? समयले हामी सबैलाई उत्तरदायी बनाएको छ । हामी चुप लागेर यो राष्ट्रलाई सड्न दिने कि आवाज उठाएर परिवर्तन ल्याउने ? निर्णय अब ढिलो गर्न मिल्दैन । इतिहासले हेर्दै छ—तपाईं कुन पक्षमा उभिनुहुन्छ ?

अब कुरा होइन, कदम चाल्ने बेला आएको छ । सबै मिलेर राष्ट्र बचाउने साझा अभियानमा जुटौँ । भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै सुशासन र समृद्धिको नयाँ इतिहास लेख्ने दायित्व अब हामी सबैको काँधमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय