सरकारलाई कांग्रेस सांसदको ‘बिन्ती’ : गाउँ सम्झौँ, सुखी र समृद्ध नेपालको परिकल्पना गरेर मात्रै हुँदैन
बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित

काठमाडौँ,बैशाख ३१ / प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले सरकारलाई गाउँ सम्झिन आग्रह गरेका छन्। मङ्गलबार संसद्‌मा जारी बजेटका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै गौतमले सरकार गाउँ बिर्सेर सहरमा रमाउन थालेको भन्दै गाउँ सम्झिन आग्रह गरेका हुन्।

‘हामीले गाउँ बिर्सिएर, किसान बिर्सिएर पक्कै पनि समृद्धिको खाका कोर्न सक्दैनौँ। नेपाल कृषिप्रधान देश हो, आज पनि ६८ प्रतिशत नागरिक कृषिमा आधारित छन्। र, त्यो किसान गाउँमा बस्छ। खेतीपाती गाउँमै हुन्छ। पशुपौवा गाउँमै पालिन्छ। गाउँको समृद्धिको कुरा गर्न छोडेर हामी सरको विकास; एकीकृत सहर, नयाँ सहरको परिकल्पनामा रमाएका छौँ। सरकारलाई मेरो मेरो गभ्मीर आग्रह छ कि हामी गाउँतिर फर्कौँ। गाउँलाई हामीले सम्झिऔँ,’ उनले भने।

अगाडि उनले भनेका छन्, ‘हामी सुखी र समृद्ध नेपालको परिकल्पना गरेर मात्रै हुँदैन। त्यसका लागि हामीले निश्चित खाका र दृष्टिकोण बनाउन आवश्यक छ। र, मलाई के लाग्छ भने हामीले लामो समययता हाम्रो बाटो बिराउँदै आएका छौँ। हाम्रो समृद्धिको सबैभन्दा ठूलो आधार नै किसान हो, कृषि हो। र, त्यो हाम्रो किसान, जसले खेती गर्छ, त्यो गाउँमा बस्छ। म दु:खका साथ के भन्छु भने यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा एक ठाउँमा पनि गाउँ सम्झिएको छैन।

उनले किसानहरूले पानी, बिउ, मलसमेत समयमा पाउन नसक्ने अवस्था रहेको पनि बताए। ‘जुन देशमा हाम्रो जस्तो कृषिप्रधान देशमा किसान खुसी हुन सक्दैनन्, सुखी हुन सक्दैनन्, त्यो ठाउँमा समृद्धिका ठूला ठूला कुरा गरेर बस्नुको कुनै अर्थ लाग्दैन। के आज हाम्रा किसान खुसी छन् ? के हाम्रा किसानले आज बिउ पाएका छन् ? के मल पाएका छन् ? पानी पाएका छन् ?,’ उनले सोधे। सांसद गौतमले सरकारलाई सरकारको प्राथमिकतामा किसान र कृषि पर्नैपर्ने सुझाव दिए।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय