बर्दिया,जेठ १(फरकसमाचार) / युवामैत्री नीति तथा कार्यक्रम ल्याउन गुलरियामा अभिमुखिकरण गरिएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवद्वारा संचालित शसक्त बालिका परियोजना अन्तर्गत स्थानीय तहमा युवा सहभागिता ढाँचा बारे सरोकारवाला बिच बुधबार गुलरियामा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रमले आगामी आर्थिक वर्षमा युवा लक्षित कार्यक्रम ल्याउन मद्दत गर्ने आयोजकले विश्वास लिएको छ ।
युवा सहभागिताको आवश्यकता तथा औचित्यता किन, सरकारले के कस्ता युवा लक्षित नीति नियम, ऐन निर्माण गरेको छ, युवाको क्षमता विकास, पालिकाको के कस्तो नीति छ, पालिकाले युवाहरुलाई कसरी सेवा दिईरहेको आगामी नीति तथा कार्यक्रममा युवालाई कसरी सम्बोधन गर्ने इत्यादि कुराहरु अभिमुखिकरणमा व्यापक छलफल गरिएको छ ।
युवा सहभागिताको महत्व, स्थानीय तहमा युवाको भुमिका तथा किशोरीहरुको सशक्तिकरणमा पैरवी गर्ने, गुलरिया नगरपालिका र किशोरीहरु बिच सहकार्यात्वमक सम्बन्धको पहल गर्ने अभिमुखिकरणको उदेश्य रहेको जनाईएको छ । समुदायका किशोर किशोरीहरु लागु औषध दुव्र्यसनमा बढी संलग्न छन्,त्यसलाई कसरी न्युनिकरण गर्ने, बाल विवाह, लैङ्गिक हिंसा, युवाहरु बैदेशिक रोजगारमा पलायन हुने दरलाई न्युनिकरण गर्न कार्यक्रममा सहभागि युवाहरु सवाल राखेका थिए ।
किशोर किशोरी तथा युवाहरुको सवालको सम्बोधन गर्दै वडा र पालिकाको नीति गरिरहेको काम बारे गुलरिया नगरपालिकाका योजना शाखाका प्रमुख मुकुन्द अर्याल, वडा अध्यक्ष सुधांशु प्रकाश शर्मा, टंक प्रसाद अधिकारी, हरी प्रसाद पासी, मुम बहादुर मल्ल, सुरेश गौतम र विष्णु यादवले पलैपालो जानकारी गराएका थिए ।
पालिकासंग सहकार्य गर्दै हेल्पिङ हेन्डको रुपमा सघाँउन किशोर किशोरीसंग बाँके युनेस्को क्लवका उप–निर्देशक गोविन्द प्रसाद लामिछानेले आग्रह गरे । विगतमा युवाहरुलाई पालिकाले सम्बोधन गर्दै आईरहेको र आगामी दिनमा पनि गर्ने भनाई गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले राखेकी थिईन् ।
कार्यक्रममा १२ वटै वडाका वडा अध्यक्ष, विषयगत शाखाका प्रमुखलगायत किशोरी, युवा क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण बसन्त कुमार बिसीले गरेका थिए ।