यज्ञप्रसाद सापकोटा
बर्दिया,जेठ २/ बर्दियाका आठ वटा पालिकाहरू मध्ये सबैभन्दा बढी बेरुजु मधुवन नगरपालिकामा देखिएको छ । महालेखा परिक्षकको ६२औँ प्रतिवेदन अनुसार जिल्लाका पालिकाहरु मध्ये सबैभन्दा बढी बेरुजु मधुवन नगरपालिकाको र सबै भन्दा कम बेरुजु राजापुर नगरपालिकाको देखिएको हो ।
प्रतिवेदन अनुसार मधुवन नगरपालिकामा २.६० प्रतिशत बेरुजु रकम देखिएको छ । मधुवन नगरपालिकाको लेखापरिक्षण गरिएको रकम एक अर्ब ६४ करोड चार लाख ५८ हजार मध्ये चार करोड २६ लाख १२ हजार रुपियाँ बेरुजु देखिएको छ ।
त्यसैगरी गेरुवा गाउँपालिकामा १.८७ प्रतिशत, ठाकुरबाबा नगरपालिकामा १.३७ प्रतिशत, गुलरिया नगरपालिकामा १.१८ प्रतिशत बेरुजु देखिएको छ । त्यसैगरी बारबर्दिया नगरपालिकामा ०.९९ प्रतिशत, बढैयाताल गाउँपालिकामा ०.५२ प्रतिशत, बाँसगढी नगरपालिकामा ०.५० प्रतिशत र राजापुर नगरपालिकामा ०.३१ प्रतिशत बेरुजु रकम देखिएको छ ।
सबैभन्दा कम बेरुजु रकम देखिएको राजापुर नगरपालिकामा लेखापरिक्षण गरिएको रकम एक अर्ब ८२ करोड १६ लाख ७२ हजार मध्ये ५६ लाख ४९ हजार रुपियाँ बेरुजु देखिएको छ । बर्दियामा सबैभन्दा कम बेरुजु आएकोमा खुसी व्यक्त गर्दै राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूले नियम विपरित काम गर्न कर्मचारीलाई दवाव नदिएको कारणले बेरुजु रकम कम आएको बताए ।
कानुन विपरित काम नगर्न पटक पटक कर्मचारीलाई निर्देशन दिईरहेको र आँफले पनि त्यस्तो काम नगरेको कारणले बेरुजु रकम कम आएको जनाए । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बेरुजु रकम पहिले देखि नै थपिँदै आएको बताए । प्रक्रिया नमिलेका बेरुजु रकमहरूलाई प्रक्रिया पुर्याएर फस्र्यौट गर्दै लैजाने उनले जनाए । स्रोत गोरखापत्र