काठमाडौं,जेठ ४ / मेक्सिकन नौसेनाको तालिम जहाज कुआउह्तेमोक न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किँदा २२ जना घाइते भएका छन्। न्यूयोर्कका मेयर एरिक एडम्सले जहाजमा २७७ यात्रु रहेको जानकारी दिएका छन्।
उनले चार जनाको अवस्था गम्भीर रहेको जानकारी गराउँदै सबै यात्रुलाई सुरक्षित निकालिएको जानकारी दिए। मेक्सिकन नौसेनाले १९ जना अस्पतालमा भर्ना भएको र तीन जनाको अवस्था गम्भीर रहेको भनेको छ।
न्यूयोर्क प्रहरी विभागका अनुसार स्थानीय समय अनुसार शनिबार राति ८:२६ बजे जहाज पुलमा ठोक्किएको थियो। दुर्घटनाले जहाजमा क्षति पुगेको र तालिम यात्रा अस्थायी रूपमा रोकिएको मेक्सिकन नौसेनाले जनाएको छ। ‘न्यूयोर्कमा कुआउह्तेमोकको प्रस्थान युद्धअभ्यासमा ब्रुकलिन ब्रिजसँग ठोक्किँदा जहाजमा क्षति पुग्यो, जसले तालिम यात्रा रोकियो,’ मेक्सिकन नौसेनाले एक्स मा लेखेको छ, ‘कर्मचारी र सामग्रीको अवस्था नौसेना र स्थानीय अधिकारीले समीक्षा गरिरहेका छन्।’
मेयर एडम्सले न्यूयोर्कका अधिकारीहरूले मेक्सिकन अधिकारीसँग सहकार्य गरिरहेको बताए। दुर्घटनापछि ब्रुकलिन पुल ४० मिनेट बन्द भएको थियो। मेयर एडम्सले प्रारम्भिक निरीक्षणपछि पुलमा कुनै ठूलो क्षति नभएको र सामान्य सञ्चालनमा फर्किएको बताए। कुआउह्तेमोक मेक्सिकन नौसेनाको तालिम जहाज हो, जसले १९८२ देखि विश्वका २२८ बन्दरगाहमा पुगेर क्याडेटहरूलाई तालिम दिँदै आएको छ। एजेन्सी