बबई सिँचाइ आयोजनामा ७६.५ प्रतिशत काम सम्पन्न
सोमबार, जेठ ०६, २०८२ मा प्रकाशित

यज्ञप्रसाद सापकोटा

बर्दिया, जेठ ५ / बर्दिया जिल्लाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने उद्देश्यले सुरु गरिएको बबई सिँचाइ आयोजनाले झण्डै ७६.५ प्रतिशत काम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२–८३ सम्म निर्माणको काम सम्पन्न गर्ने लक्ष्य सहित गुरुयोजना लागु गरेको आयोजनामा कार्यअवधी एक वर्ष बाँकी छँदा अझै पनि १३.५ प्रतिशत काम बाँकी रहेको छ ।

करिब १८ अर्ब ९६ करोडको लागतमा २०८२–८३ मा आयोजना सम्पन्न हुने गरि २०७८ सालमा गुरुयोजना स्विकृत गरिएको थियो । गुरुयोजना अनुसार पर्याप्त बजेट उपलब्ध नहुँदा बबई सिँचाइ आयोजनाको काम लम्बिँदै गएको छ भने लागत समेत बढ्दै गएको छ । २०६८–७९ मा राष्ट्रिय गौरवको आयोजनामा सुचिकृत भएको बबई सिँचाइ आयोजनामा तुलनात्मक रुपमा बजेट विनियोजन बढेपनि गुरुयोजना अनुसार बजेट अभाव हुँदै आएको छ ।

बबई सिँचाइ आयोजनाले हालसम्म ७६.५ प्रतिशत भौतिक प्रगती गरेको छ भने ७७.५ प्रतिशत वित्तिय प्रगती गरेको छ । यस वर्षको अन्त्य सम्ममा ७८ प्रतिशत काम सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ । आयोजनाले ९१ किलोमिटर मूल नहर र तीन सय १३ किलोमिटर शाखा, उपशाखा नहर निर्माण गर्ने योजना छ ।

जसमध्ये पूर्व तर्फको ३४ किलोमिटर मूल नहर निर्माण भईसकेको छ भने शाखा प्रशाखा नहर निर्माण भइरहेको छ । त्यसैगरी पश्चिम तर्फको करिब ४१ किलोमिटर मूल नहर मध्ये २८ किलोमिटर निर्माण भएको छ भने बाँकी दुई वटा प्याकेज बनाएर ठेक्का सम्झौता भइसकेको छ । हाल गुलरिया नगरपालिका खण्डमा मूल नहर निर्माणको काम भइरहेको छ ।

आयोजनामा हाल सम्म १४ अर्ब ७० करोड रकम खर्च भइसकेको छ । यस वर्ष एक अर्ब ७० करोड बजेट विनियोजन भएकोमा एक अर्ब ४६ करोड रकम निर्माण तर्फ मात्र विनियोजन भएको थियो जसमध्ये एक अर्ब २४ करोड बराबरको काम भइसकेको बबई सिँचाइ आयोजनाका निर्देशक शुसिल चन्द्र देवकोटाले बताए ।

गुरुयोजना अनुसार काम हुन नसक्दा गुरुयोजनाको म्याद थप्ने तयारी भइरहेको छ । गुरुयोजना संशोधन गरी म्याद थप गर्दा १८ अर्ब ९६ करोड लागतबाट २२ अर्ब पुग्ने अनुमान गरिएको छ । ‘म्याद थपसँगै आयोजनाको लागत रकम बढ्ने निश्चित छ ।’ निर्देशक देवकोटाले भने, ‘कार्यालय सञ्चालन लगायत चालु खर्च त बढ्नै नै भयो । महङ्गाइ बढेसँगै पुँजीगत खर्च समेत बढ्ने निश्चित छ ।’

आयोजनामा विगतका वर्षहरूमा पर्याप्त बजेट नहुनु, कोभिडको कारणले केही समय काम रोकिनु र निर्माण कम्पनीले समयमा काम नगर्नाले पनि आयोजनाको लक्ष्य अनुसारको काम हुन नसकेको बबई सिँचाइ आयोजनाका निर्देशक देवकोटाले बताए । ‘बजेट अभावले करिब २ वर्ष नयाँ ठेक्का खोल्न सकिएन,’ उनले भने, ‘२०७४ साल देखिका ठेक्काहरु पनि निर्माण कम्पनीले काम नगर्दा ठप्प छन्, केही ठेक्का प्रक्रिया पुर्याएर तोडेर नयाँ ठेक्का लगाई काम अगाडि बढेको छ भने केही तोड्ने प्रक्रियामा छौँ ।’

निर्माणसँगै सेवा दिईरहेको हुनाले समेत बबई सिचाइ आयोजनाको काम तिव्र रुपमा अगाडि बढाउन कठिन भएको आयोजनाको भनाइ छ । निर्देशक देवकोटाका अनुसार माघ देखि जेठसम्म नहर बन्द गरेर निर्माणका काम अगाडी बढाइन्छ त्योभन्दा बाहेक कृषकहरूलाई पानी वितरण गरिन्छ । हाल बबई सिँचाइ आयोजनाले करिब २६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याएको छ । भेरी बबई डाईभर्सनको पानी नआउँदासम्म बर्दियामा पर्याप्त सिँचाइ सुविधा भने नपाउने निश्चित छ ।

बबई आयोजना २०४५–४६ सालदेखि सुरु भई २०४९–५० सालमा पहिलो चरणको काम सम्पन्न भएको थियो । जसमा हेडवक्र्स र ५.५ किलोमिटर मूल नहर निर्माण गरि परम्परागत कुलोबाट कृषकहरूलाई सुविधा दिइएको थियो । २०५१ देखि २०५८ साल सम्म २२.५ किलोमिटर मूल नहर निर्माण गरिएको थियो ।

आयोजनाको दोस्रो चरणको कार्य २०५८ देखि सुरु भएको थियो । बबई नदीमै साइफन निर्माण गरि पश्चिम तर्फको नहर निर्माण कार्य २०६८–६९ मै सुरु भएको थियो । राष्ट्रिय गौरबको आयोजनामा सूचिकृत भएपछि नहर निर्माणको कार्यले तिव्रता पाएको थियो । स्रोत गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय