चितुवा समात्न डार्ट गनसहित प्राविधिक परिचालित
बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित

बर्दिया,जेठ १५ / गुनपा ५ बालापुर बस्ने सात वर्षीया सायरा चौधरीको चितुवाको आक्रमणबाट बुधबार बिहान ज्यान गयो । हजुरबुवासँग खेल्दै गरेकी चौधरीलाई चितुवाले आँगनमाबाट टिपेर लगेको थियो । यसअघि ९ वर्षका सृजन थारुलाई बोकेर लैजाँदै गर्दा हजुरआमाले बचाएकी थिइन् । सृजन अहिले पनि उपचारका क्रममै छन् ।

नाति बचाउने ति हजुरआमालाई साहसी महिलाको दर्जा दिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल बनाए ।

वैशाख १५ गते गुलरिया डपिङ साईड नजिकबाट ९ वर्षीया मेलिनाले पनि चितुवाको आक्रमणमा परी ज्यान गुमाइन् । गेरुवा गाउँपालिका घर भएकी बालिका मेलिना ब्रतबन्धको निम्तो मान्न गुलरिया आएको बेला चितुवाले आक्रमण गरेको खुलेको हो । बालापुरकै ६५ वर्षीय भिक्कुलाल थारु चितुवाको आक्रमणबाट घाइते भए । भिक्कु उपचारपछि सामान्य अवस्थामा घर फर्किएका छन् ।

शृखलाबद्ध चितुवाको आक्रमणका घटना लामो समयको होइन । ४० दिनभित्रैमा दुई बालिकाको ज्यान जाने गरी चार जनालाई गुलरिया नगरपालिकाभित्र चितुवाले आक्रमण गरेको हो ।

यति बेला गुलरिया नगरपालिका वडा नं. ५ बालापुर गाउँकी बालिकाको मृत्युले बालापुर गाउँ शोकमग्न बनेको छ । मृतक सायराकी आमा अर्धचेत अवस्थामा छिन् । चितुवा आाक्रमणको त्रासमै रहेर गाउँमा बस्नु पर्ने बालापुरवासीको बाध्यता छ । चितुवाले लगातार आक्रमण गरिरहँदा बेवास्ता गरेको भन्दै स्थानीयहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए । घटना घटेलगत्तै चितुवा वरिपरि घुमे पनि वन प्रशासनले सक्रियता नदेखाएको पीडित परिवारको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले घटनास्थल पुगेर तत्काल चितुवालाई नियन्त्रणमा लिन निर्देशन दिएकी छिन् । निकुन्ज, एनटिएनसि र वनकर्मीको प्राविधिक टोलीले आक्रमणकारी चितुवाको खोजी सुरु गरिरहेको छ । लुम्बिनी प्रदेशमा अस्वाभाविक स्वभाव देखाउने वन्यजन्तु नियन्त्रण गर्न सिपालु जनशक्ति परिचालन गरिएको छ ।

रामदास चौधरी, टिकाराम थारु, दिपप्रसाद चौधरी, खुसीराम चौधरी र भेटेनरी चिकित्सक विकल्प कार्की वन्यजन्तु नियन्त्रणमा सिपालु र दक्ष जनशक्तिका रूपमा चिनिन्छन् । पहिलो प्रयासमा चितुवालाई केजमा फसाउने तयारी छ । केजमा नफस्ने देखिए बन्दुकबाट बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिने प्रयास प्राविधिक टोलीले गर्ने प्रजिअ रुद्रादेवि शर्माले जानकारी दिइन् ।

चितुवालाई नियन्त्रणमा लिन केज र डार्टबाट सम्भव नभए हात्तीले घेरेर समात्न पर्ने सिडिओ शर्माले प्राविधिक टोलीलाई विकल्प दिएकी छिन् । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय