बर्दिया,जेठ १५(फरकसमाचार) / लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–१ चेपाङ रत्नराजमार्ग स्थितबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला जुम्ला तातोपानी गाउँपालिका–२ डाँङ्गीबाडाका २८ वर्षिय लोकेन्द्र खत्री र जुम्ला कनका सुन्दरी गाउँपालिका–४ धोबीघाटका २४ वर्षिय नरेश बिसी रहेका छन् । भे १ ज ८९८ नंम्बरको इको भ्यानका खत्री चालक र बिसी सहचालक रहेको प्रहरीले पुष्टि गरेको छ ।
शंकास्पद रुपमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई प्लाष्टिकमा राखेको दुई पुरिया ३ ग्राम २ सय ६० मिलीग्राम खैरो रंगको धुलो पदार्थ लागुऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।