बर्दिया,जेठ १७(फरकसमाचार) / नरभक्षी चितुवालाई समात्न गुरुवाले वनदेवीको पूजा गरेका छन् । गुलरिया नगरपालिका– ५ स्थित थारु सामुदायिक वनमा शनिबार बिहान गुरुवाले वनदेवीको पूजा गरेका हुन् । लामो समय देखि आतंक मच्चाएको चितुवा नियन्त्रणमा नआएपछि स्थानीय स्थानीयहरुको सल्लाह बमोजिम गुरुवाले वनमा बोका चढाएर पूजा गरेका छन् । पूजा गरेर वनदेवीलाई खुसी बनाए चितुवा नियन्त्रण हुने जनविश्वास रहेको स्थानीयले बताएका छन् ।
समस्याग्रस्त चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको श्यामकली र राष्ट्रिय प्रकृति संरक्षण कोषको शान्तिकली नामक दुई हात्तीसहित १२ जनाको प्राविधिक र डिभिजन वन कार्यालयको संयुक्त टोली बिहीबार देखि परिचालन भएपनि अझैसम्म सफलता पाएको छैन ।
चितुवा नियन्त्रण लिने अनेक जुगाँड फेल भएपछि गाउँलेहरुको सल्लाहमा वनमा बोका चढाएर वनदेवीको पूजा गरिएको बालापुर ५ वटा टोलका मुल बडघर तथा गुरुवा काली प्रसाद थारुले बताए ।
निरन्तर आक्रमण गरिरहेको समस्याग्रस्त चितुवा नियन्त्रणमा नआएपछि यस क्षेत्रका सर्वसाधारणहरु त्रसित भएका छन् । गुलरिया नगरपालिका–५ बालापुरकी ५ वर्षीया सायरा थारुलाई गत बुधबार बिहान चितुवाले आक्रमण गरि मारेको थियो ।
उक्त समस्याग्रस्त चितुवाले गत बैशाख १५ गते गुलरिया नगरपालिका–८ डम्पिङ साइड सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणबाट ९ वर्षीया मेलिना खड्काको मृत्यु भएको थियो । त्यसैगरि गत चैतमा चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ का ६५ वर्षीय बिक्कुलाल थारु र गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षिय सिर्जन थारुलाई चितुवाले आक्रमण गरी घाईते बनाएको थियो ।
समस्याग्रस्त चितुवा समात्न ९ वटा क्यामरा, केज र हात्तीसहितको प्राविधिक टोली परिचालन भईरहेको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ४ जनाको मृत्यु भईसकेको डिभिजन वन कार्यालयका सुचना अधिकारी रामकुमार चौधरीले बताए ।