बर्दिया,जेठ २१ / सोमबारदेखि सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण बिचल्लीमा परेका छन् । काम विशेषले बाहिर निस्केका यात्रु बीचबाटोमा अलपत्र परेका हुन् ।
सार्वजनिक सवारीसधान बन्दले सुनसान बनेको गुलरिया बसपार्कमा मंगलबार बिहानदेखि कैलालीको धनगढी उपमहानगरपालिका–१२ मनेहराका दुई युवती गाडी पर्खिरहेका थिए । गुलरियादेखि धनगढी १ सय किलोमिटरको दुरीमा छ ।
उनीहरु आफ्नी दिदीको घरमा (भारतको कतर्निया गाउँ) ५ दिनअघि पाहुना गएका थिए । गुलरियाबाट करिब ८ किलोमिटर टाँगामा यात्रा गरेपछि भारतको मुर्तिहाबाट कतर्नियाको लागि सवारीसाधन मिल्छ । यही बाटो हुँदै उनीहरु भारतको कतर्निया दिदीको घर गएका रहेछन् ।
सुनसान गुलरिया बसपार्कमा घण्टौं गाडी कुरेपछि मात्र सोमबारदेखि सार्वजनिक गाडी बन्द रहेको उनीहरुलाई थाहा भयो । त्यसपछि आत्तिँदै आफन्तलाई फोन गरेर मोटरसाइकलमा लिन बोलाएँ ।
‘हामीलाई गाडी बन्द रहेको थाहा भएन । दिदीको घरबाट आइहाल्यौं । गुलरिया बसपार्क सुनसान देखिँदा मात्र गाडी नचलेको थाहा पायौं ,’ मनेहराकी अन्जली चौधरीले भनिन्, ‘गुलरियाबाट दिदीको घर पनि टाढा भयो, उता आफ्नो घर धनगढी पनि टाढा पर्यो । बीच बाटोमा आएर दुःख पाइयो ।’
गुलरिया बसपार्कमा बिहानदेखि भोकभोकै गाडी कुरेर बसेको सँगै रहेकी सिमता राजीले बताइन् । ‘दिदीको घरबाट केही नखाएर बिहानै निस्केका थियौं,’ उनले भनिन्,‘गुलरिया बसपार्कमा पुग्दा गाडी नचलेको थाहा भयो । बसपार्कमा बस्दाबस्दै दिउँसोको साढे १२ बजिसक्यो । धनगढीबाट लिन आउन आफन्तलाई खबर गरेका छौं । खोइ कतिबेला आइपुग्नुहुन्छ ?’स्रोत ईकान्तिपुर