बर्दिया,जेठ २१(फरकसमाचार) / जातीय छुवाछुत तथा भेदभाव व्यक्तिगत नभई हाम्रो साझा समस्या भएको सरोकारवालाले बताएका छन् । दलित महिला संघ, बार एशोसियसन र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा मंगलबार आयोजित जिल्ला स्तरीय अन्तर संवाद कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।
जातीय छुवाछुत तथा भेदभावको अन्त्य सम्भव छ तर, एक व्यक्तिले मात्र सक्दैन,यो विभेदको अन्त्यको लागि सबैले सघाँउनुपर्ने संवाद कार्यक्रममा बृहत छलफल गरिएको छ । छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १९ वर्ष पुग्दासमेत घटना घटिरहनु दुःखद रहेको सहभागिहरुको भनाई थियो ।
समुदायमा जातीय छुवाछुत तथा भेदभावका घटना भएमा संविधानमा उल्लेख भए बमोजिम पीडकलाई सजाय हुनुपर्ने बार एशोसियसनका अध्यक्ष खडानन्द तिवारीले बताए । ‘यस्ता घटनामा संलग्न पीडकलाई संरक्षण नगरि कानुनी दायरामा ल्याई निरुत्साहित गर्नुपर्छ,’उनले भने,‘पिडितलाई न्याय दिन हामी सबैले आ–आफ्नो ठाउँबाट सघाँउनुपर्छ ।’
समुदायमा हुने यस्ता गतिविधिलाई निरुत्साहित गर्ने उदेश्यले समय समयमा सडक नाटकमार्फत सचेत गराईरहेको गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले बताईन् ।
जातीय छुवाछुत तथा भेदभावको जाहेरी आएमा अनुसन्धान गरि कानुन बमोजिम आवश्यकको प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र बहादुर डमरपालले बताए ।
विस २०६३ साल जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दलित महिला संघकी अध्यक्ष हिमा सुनारले बताईन् । ‘घोषणा भएको लामो समय बितिसक्दा पनि घटना घटेको पाईन्छ,’उनले भनिन्,‘हाम्रो समाजमा छुवाछुत प्रत्यक्ष अप्रत्यक्ष रुपमा छ,यसलाई रोक्न अन्त्य गर्न तपाई हाम्रो भुमिका के रहन्छ बहस हुन जरुरी छ ।’
स्वागत मन्तव्यसहित जिल्ला स्तरीय अन्तर संवाद कार्यक्रमका सहभागिलाई नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले स्वागत गरेका थिए । छुवाछुत मुक्त राष्ट्र घोषणा भएको पुर्व सन्ध्यामा सोमबार आयोजित जिल्ला स्तरीय अन्तर संवाद कार्यक्रममा मानव अधिकारकर्मी, संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, अधिवक्तालगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।