जब्दीघाट पुल : स्रोत सहमति भएको पाँच महिनासम्म पनि खुलेन ठेक्का
शुक्रबार, जेठ ३१, २०८२ मा प्रकाशित

यज्ञप्रसाद सापकोटा

बर्दिया, जेठ ३०/ अर्थ मन्त्रालयले जब्दी घाटमा पक्की पुल निर्माणका लागि स्रोत सहमति दिएको पाँच महिना बितिसक्दा पनि पुल निर्माणका लागि ठेक्का हुन सकेको छैन । गुलरिया नगरपालिका–४ र बारबर्दिया नगरपालिका–५ जोड्ने पक्की पुलको नाममा गत पुसको अन्तिम साता अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरे पनि पुल निर्माणका लागि ठेक्का हुन नसकेको हो ।

अर्थ मन्त्रालयले जब्दीघाटमा अर्को पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रकमको स्रोत सुनिश्चितता गरेको थियो । जसमध्ये यस आर्थिक वर्षका लागि एक करोड रकम विनियोजन गरिएको छ । तर, हालसम्म पुल निर्माणका लागि ठेक्का खुल्न सकेको छैन ।
जब्दीघाटमा पुल निर्माणका लागि स्रोत सहमति भएको खबर आउन साथ बर्दियावासीहरू निक्कै उत्साहित भएका थिए । बजेट आए पनि हालसम्म पुल निर्माण गर्ने स्थान नापजाँच गर्नसमेत सम्बन्धित निकाय नआउँदा चिन्तित बनेका छन् ।

‘अहिले सम्म कोही पनि पुल निर्माण गर्ने स्थान छनोट गर्न आएका छैनन्, कहिले हुन्छ पुल निर्माण,’ बारबर्दिया नगरपालिका– ११ जब्दीकी रामकृष्णी थारूले बताईन् । उनले भनिन्, ‘पुलको लागि बजेट मैले पारेको भन्ने नेताहरु सबै चुपचाप छन् ।’
पक्की पुल नहुँदा जब्दीघाट भएर आवतजावत गर्ने बर्दियावासीहरू मर्कामा परेका छन् । बारबर्दिया नगरपालिकालाई सोझै सदरमुकाम गुलरियासँग जोड्नका लागि पुल निर्माण हुनु आवश्यक छ ।

बारबर्दिया नगरपालिकाको कार्यालय देखि सदरमुकाम गुलरिया पुग्नका लागि जम्मा १२ किलोमिटर सडक छ, तर पुल नहुँदा चारपाङ्ग्रे सवारी साधनलाई करिब ३० किलोमिटर दूरी पार गर्नुपर्दछ भने साइकल, मोटरसाइकल र पैदल यात्रीलाई शुल्क तिरेर डुङ्गाको जोखिम पूर्ण यात्रा गर्नु पर्दछ । केही समय अगाडिसम्म काठको पुलमा शुल्क तिरेर यात्रा गरिरहेका बारबर्दियावासीले नदीको बहाव बढेपछि डुङ्गाको यात्रा गर्न बाध्य छन् ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले हालसम्म विडिङ्ग डकुमेन्ट नबनिसकेकाले ठेक्का प्रक्रिया सुरु नभएको बताए । स्रोत सहमति भएपछि तत्कालै इस्ट्याण्डर्ड विडिङ्ग डकुमेन्ट निर्माणका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँमा पठाएको जनाए । ‘डिजाइन एण्ड व्युल्ड मोडलमा ठेक्का लगाउनका लागि सुरुमा ट्याण्डर्ड विडिङ्ग डकुमेन्ट बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘अझै एक महिना बाँकी छ डकुमेन्ट आएमा तत्कालै अगाडि बढाउँछौँ ।’ यस आर्थिक बर्षमा ठेक्का सुरु नगरेमा पुनः स्रोत सहमति लिने लगाएतका काम शून्यबाटै सुरु गर्नुपर्ने उनले सुनाए ।

पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण भई हस्तान्तरण नहुँदै विस २०७४ सालको बाढीले बबई नदिको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । पुल भासिए पनि जोखिम मोलेर साना सवारी साधन मानिसहरू यात्रा गरीरहेका थिए तर, २०७९ सालको बाढीले पुललाई पूर्णरुपमा बगाएपछि स्थानीयवासीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । स्रोत गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय