बर्दिया,जेठ ३१(फरकसमाचार) / लामो समय देखि बहाल बिटौरी कर तिरेर लाल पुर्जाबाट बञ्चित रहेका राजापुर बजारवासीले लालपुर्जा पाउने भएका छन् । नेपाल सरकारको सहकारी तथा भूमि मन्त्रालय र राष्ट्रिय भूमि समस्या समाधान आयोगले तीन महिना भित्र लाल पुर्जा दिने अस्वाशन दिएको हो ।
राजापुरको मुख्य समस्याको समाधान गर्न राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको नेतृत्वमा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष शालिकराम अधिकारी, राजापुर नगरपालिकाका प्रवक्ता असराज न्यौपाने राजापुर १ का वडा अध्यक्ष बाबुराम चौधरी, राजापुर ४ वडाध्यक्ष बिदुर पोख्रेल, राजापुर ७ का वडा अध्यक्ष रामु थारु, नेकपा एमाले गेरुवा गाउँपालिका अध्यक्ष भरत धामी र बर्दिया जिल्ला भूमि समस्या समाधान आयोगका विज्ञ सहितको सर्वदलीय सर्वपक्षीय टोली काठमाडौं पुगेको थियो ।
उक्त सिङ्गो टोलीले नेपाल सरकारका भूमि तथा सहकारी मन्त्री बलराम अधिकारी र राष्ट्रिय भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजाललाई भेटी वर्तमान समस्याको बारेमा अवगत गराएको थियो । राष्ट्रिय भूमि समस्या समाधान आयोगलाई बहाल बिटौरी करसँग जोडिएका जग्गाको लालपुर्जा वितरण गर्ने सन्दर्भमा नेपाल सरकारले अधिकार प्रत्यायोजन गरेको छ ।
सो अधिकारलाई प्रयोग गरेर राष्ट्रिय भूमि समस्या समाधान आयोगले आवश्यक प्रक्रिया पुगेको विषयमा सम्बन्धित प्रक्रियामै टेकेर अगाडि बढ्न सकिने राष्ट्रिय भूमि समस्या समाधान आयोग बर्दियाले इच्छाशक्ति देखाएको खण्डमा नेपाल सरकारको सहकारी तथा भूमि मन्त्रालय र राष्ट्रिय भूमि समस्या समाधान आयोगले अबको तीन महिना भित्र राजापुर बजार बासीलाई लालपुर्जा दिन जनाएको छ ।
अव्यवस्थित बसोबास भूमिहीन सुकुम्बासी लगायत राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्यक्षेत्र भित्र रहेका सबै प्रक्रिया पूरा गरेर अगाडि बढिसकेका आवेदनको सन्दर्भमा पनि राष्ट्रिय भूमि समस्या समाधान आयोग बर्दिया सक्रिय भएर लागेको खण्डमा छिटो भन्दा छिटो समस्या समाधान हुने विश्वास दिलाईएको छ ।