बर्दिया,असार २ / समस्याग्रस्त अर्को चितुवालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका–५ बालापुरस्थित थारु सामुदायिक वनबाट आइतबार बिहान वनले चितुवालाई नियन्त्रणमा लिएको हो । गत जेठ २१ गते सोही वनबाट वनले पोथी चितुवा नियन्त्रणमा लिएको थियो । वनले थापेको क्यामरामा दुई वटा चितुवा देखिएकोले वनले निरन्तर केज थापिरहेको थियो ।
बालापुर स्थित वनबाट नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी रामकुमार चौधरीले बताए । ‘केजमा परेको चितुवा आत्तिएर उफ्रिरहेको छ,’ उनले भने, ‘जसले गर्दा भाले वा पोथी छुट्याउन सकिएको छैन ।’ नियन्त्रणमा लिइएको चितुवा सुरक्षित स्थानमा छोड्ने तयारी भइरहेको उनले जनाए ।
गत जेठ १४ गते गुलरिया नगरपालिका–५ बालापुरकी ७ वर्षीया सायरा थारुलाई चितुवाले आक्रमण गरि मारेको थियो । त्यसैगरी गत बैशाख १५ गते गुलरिया नगरपालिका–८ डम्पिङ साइड सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणबाट ९ वर्षीया मेलिना खड्काको मृत्यु भएको थियो ।
त्यसैगरी गत चैतमा चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ का ६५ वर्षीय बिक्कुलाल थारु र गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सिर्जन थारुलाई चितुवाले आक्रमण गरी घाईते बनाएको थियो ।
गुलरिया नगरपालिका–४ तुल्सीपुर, वडा नंम्बर ५ बालापुर र वडा नं. ८ स्थित चितुवाले निरन्तर आक्रमण गरिरहेको थियो । सो क्षेत्रमा पशुचौपाया लगायतमाथि निरन्तर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका थिए । खेतीपातीको सिजनमा पनि एक्लै खेतमा जानसमेत स्थानीय डराइरहेका थिए । लगातार २ वटा चितुवा नियन्त्रणपछि स्थानीय खुसी देखिएका छन् ।
बारबर्दिया नगरपालिका–१ स्थित सहमति सामुदायिक वनमा दाउरा लिन गएको बेला शनिबार चितुवाले आक्रमण गरी अनिता चौधरीलाई घाइते बनाएको छ । चौधरीको पाखुरामा चोट लागेको जनाइएको छ । घाइते चौधरीको बारबर्दिया स्थित अस्पतालमा उपचार भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले जानकारी दिए । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट १ महिला, २ बालिका र १ बालकको मृत्यु भइसकेको छ ।स्रोत ईकान्तिपुर