प्रकाश पौडेल
बर्दिया,असार २/ मधुवन नगरपालिका–१ पत्थरबोझी गाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा बस्ने अभिभावक विहिन बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ । कन्सल्ट्यान्ट फिजिसियन डाक्टर मनोज कुमार तिमिल्सैना र उनकी पत्नी मानसिक रोग विशेषज्ञ डाक्टर नितु बस्नेतले विद्यालयमा पुगेर बालबालिकाको स्वास्थ्य परिक्षण गरेका हुन् ।
विद्यालयमा रहेको छात्राबासमा ३९ जना अभिभावक विहिन बालबालिका बस्दै आएका छन् । पालिकाले अभिभावक विहिन बालबालिकालाई बस्नका लागि भवन लगायतको संरचना निर्माण गरेको छ । तर, बस्ने कोठाको अभाव हुँदा विद्यार्थीलाई समस्या हुने गरेको छ । विद्यालयमा रहेका अभिभावक विहिन बालबालिकाको बारेमा थाहा पाएपछि तिमिल्सैना दम्पती औषधी लिएर बालबालिकाको उपचारको लागि विद्यालय पुगेका थिए ।
कन्सल्ट्यान्ट फिजिसियन तिमिल्सैनाले विद्यालयमा अभिभावक विहिन बालबालिका बस्दै आएको कुरा प्रकृती पद प्रर्दशक रामराज ढकालले बताएपछि थाहा पाएको बताए । उनले भने, ‘अभिभावक विहिन बालबालिकाको बारेमा थाहा पाएर श्रीमती बताए पछि उनले पनि जाने इच्छा गरिन्, दुई जना भएर उपचार गर्न आयौं । उपचार गर्ने क्रममा केही बालबालिकालाई थप उपचारका लागि अस्पताल लैजानु पर्ने देखिएको छ ।’
मानसिक रोग विशेषज्ञ डाक्टर नितु बस्नेतले अभिभावक विहिन बालबालिकालाई विद्यालयमा आएर उपचार गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन, ‘आज विद्यालयमा आएर स्वास्थ्य परिक्षण गर्दा अझै पनि बिरामी सामान्य स्वास्थ्य परिक्षण गर्नबाट बन्चित भएको पाएँ । बालबालिकामा भएको स्वास्थ्य समस्या पहिचान गर्न पनि समय समय स्वास्थ्य परिक्षण गर्नुपर्ने देखिएको छ ।’
प्रकृती पद प्रर्दशक रामराज ढकालले अभिभावक विहिन बालबालिका बारेका बताउने बितिकै डाक्टर तिमिल्सैनाले विद्यालयमा गएर स्वास्थ्य जाँच गर्ने राजी भएको बताए । उनले भने, ‘सरसँग दुई दिन अगाडी मात्र चिनजान भएको हो । मैले सरलाई पत्थरबोझी गाउँमा रहेका अभिभावक विहिन बालबालिकाको बारेमा बताए । उहाँले बालबालिकालाई सहयोग गर्ने इच्छा व्यक्त गर्नु भयो । सरले शनिबार विद्यालयमा गएर स्वास्थ्य परिक्षण गरौला भन्नुभयो । आज सर आउनु पनि भयो । सरमा मैले सकारात्मक उर्जा पाएँ ।’
विद्यालयमा गएर स्वास्थ्य परिक्षणका लागि समय व्यवस्थापन लगायतका अन्य काममा ठाकुरबाबा नगरपालिकामा रहेको बबई रिसोर्टका गौरब योगी र विष्णु घिमिरे लगायतको टिमको समेत सहयोग गरेको थियो ।