रोपाई गर्दै गुलरियामा मनाईयो धान दिवस
सोमबार, असार १६, २०८२ मा प्रकाशित

बर्दिया,असार १६ (फरकसमाचार)/ आसारे भाका गाउँदै रोपाई गर्दै धान दिवस मनाईएको छ । गुलरिया नगरपालिका–५ सुहेलवा स्थित आइतबार २२औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईएको हो ।

कोही हलो जोत्दै थिए भने कोही धानको बिउँ उखेल्न ठिक्क थिए । धान दिवस महोत्सवमा उपस्थित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकाललगायतका सहभागिहरु एकाएक हातमा धानको बिउँ लिएर तयार ग्रहमा प्रवेश गरे । आसारे भाकाको लयमा लय मिलाउँदै प्रजिअ पौडेललगायत सहभागिले धान रोपेका थिए ।

सिंचाई सुविधाको अभाव र सधैं मलको झन्झटले रोपाई ढिलो गरि सुरुवात गरेको गुलरिया नगरपालिका–५ सुहेलवाका राम किसुन थारुले बताए ।

हालसम्म जिल्लामा ३० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाई सकिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले बताए । ‘जिल्लामा ५० हजार १ सय ५० हेक्टरमा वर्षे धान खेती गरिन्छ,’प्रमुख ढकालले भने,‘जिल्लामा ७० प्रतिशत मात्र सिंचाई सुविधा उपलब्ध छ, गत वर्षको तथ्यांक केलाउँदा प्रति हेक्टर ४ दशमलव ४७ मेट्रिक टन धान उत्पादन भएको छ, सिंचाई सुविधा वृद्धि हुँदै जाँदा उत्पादन पनि बढ्छ ।’

‘मल व्यवस्थापनमा चुनौती देखिएको छ, किसानले गोबर मल कम प्रयोग गर्न छोडेर रासायनिक मलतर्फ आकर्षित भएका छन्, यसले माटोको उर्वरा शक्ति क्रमशःघट्दै जाने र बिस्तारै उत्पादन पनि घट्दै जाने देखिएको छ,’प्रमुख ढकालले भने,‘हामीले सिफारिस गरेको भन्दा बढि रासायनिक मल किसानले प्रयोग गरेका छन्,बढि मल प्रयोग गरेर बढि उत्पादन हुने हुदैन, त्यसैले सिफारिस गरेको मात्रामा रासायनिक मल प्रयोग गर्न जरुरी छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर