डिल्लीप्रसाद जोशी
बर्दिया,असार २४ / कामविहीन भएर बस्नै सक्दिनँ । अन्तरआत्माले नै केही न केही गरिरहनुपर्छ भनेर प्रोत्साहन गरिरहन्छ । फेरि इच्छाशक्ति हुने हो भने जसरी पनि काम गर्ने आँट आउँदो रहेछ । त्यसैले त बुढ्यौलीमा पनि आराम गर्न मन लागेन । दैनिक सबेरै उठेर नृत्यकर्म पूरा गरेपछि कागती चिया (लेमन टी) व्यापारका लागि सामान तयार गर्छु । सबै सरजाम तयार गर्न करिब एक घण्टा लाग्छ ।
अहिले ६७ वर्षको भएँ । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा मेरो घर छ । दुई पैसा कमाउने उद्देश्यले घर छोडेर चार वर्षदेखि गुलरियामै बसिरहेको छु । गुलरिया नगरपालिका–७ बंगलामुखी मन्दिरनजिक कोठा भाडामा लिएको छु ।
सामान्य परिवारमै हुर्किएकाले सानैदेखि सबै मुसिबत राम्ररी बुझेको छु । आर्थिक स्थिति ठिक नभएकै कारण जहान पाल्न उमेर छउन्जेल कमाउन भारततिर धाएँ । भारतका विभिन्न ठाउँमा मिहिनेत मजदुरी गरेँ । उमेर ढल्किँदै जाँदा जाँगर पनि खस्किँदै गयो । काम गर्ने जाँगर कम हुँदै गएपछि नयाँ व्यापार रोजेँ । भारतको लखनउमा ‘लेमन टी’ बेच्ने काम सुरु गरेँ ।
केही दिन हातमा थर्मस लिएर पसल–पसल डुल्दा हिचकिचाहट भयो । बिस्तारै सहज हुँदै गयो । लखनउमा बसेर ५ वर्ष यो काम गरेपछि घर फर्किएँ । त्यसपछि यही काम गर्न भनेर बर्दियाको राजापुर आएँ । राजापुर बजारमा डुलेर एक वर्ष ‘लेमन टी’को व्यापार गरेँ । त्यसपछि व्यापार गर्दै मधुवन हुँदै गुलरिया आएँ । विगत चार वर्षदेखि निरन्तर गुलरियामा डुलेर ‘लेमन टी’को व्यापार गर्छु । पसलै पसल डुलेर ‘लेमन टी’ बेच्न लागेको पनि १० वर्ष भएछ ।
गुलरिया बजारका हरेक पसलका साहुले मलाई चिन्छन् । खाने इच्छा भएकाले मलाई देख्ने बित्तिकै ‘लेमन टी’वाला बाजे यता आउनूस् भनिहाल्छन् । थर्मसमा करिब ३ घण्टा तातो टिक्छ । दिनमा दुईपटक ‘लेमन टी’ तताउन कोठा दौड्नुपर्छ । बिहानै एक हातमा थर्मस र एक हातमा सानो बल्टिनमा गिलास र ‘लेमन टी’ मसला लिएर निस्कन्छु । चाँडै बिक्यो भने दिउँसो छिट्टै कोठा फर्किन्छु र आफैं खाना बनाएर खान्छु । यदि ढिलो बिक्यो भने ढिलो खाना खाने समय जुर्छ ।
मेरा ३ छोरा र २ छोरी छन् । छोरीहरूको बिहे भएर आ–आफ्नो घरमा छन् । छोराहरूको पनि विवाह भएर सबै अलग–अलग छन्, उनीहरूलाई आ–आफ्ना जहान–बच्चा पाल्नै ठिक्क छ । म पनि आफ्नो परिवार पाल्न यहाँ व्यापार गर्छु । घरमा बुढी छ, महिनामा एक पटक घर जान्छु । दुई–तीन दिन बसेर फेरि व्यापार गर्न फर्किन्छु ।
दैनिक करिब ४ किलोमिटर पसल–पसल गुलरिया बजार डुल्छु । जाडो मौसममा राम्रै व्यापार हुन्छ । अचेल गर्मीको सिजनमा खासै व्यापार छैन । एक कप ‘लेमन टी’ १० रुपैयाँमा बिक्छ । मुस्किलले ७०/७५ कप कट्छ । दैनिक ७ सयजतिको व्यापार हुन्छ । जसमा गिलास, ‘लेमन टी’ मसला (काला नमक, ज्वानो, सुकमेल, काली मरच, चिनी र कागती)मा दैनिक ३ सय खर्च हुन्छ । दैनिक करिब ४ सय बच्छ । जसबाट मासिक २ हजार ५ सय घरभाडा तिर्छु । एक्लो पेटका लागि दाल, चामल, तरकारी, मसला, नुन, तेल ग्यास, लत्ता–कपडा, सरफ–साबुन इत्यादिमा मासिक करिब ८ हजार खर्च हुन्छ । बाँकी बचाएर घरखर्चका लागि घर पठाउनै पर्यो ।
आफ्नो धेरै खेतबारी केही छैन । कमाइ गरेकोबाट घरखर्च धान्नुपर्छ । मैले गरेको आम्दानी र खर्च बराबरै हुन्छ । बस्ने तीन कोठे घर भए पनि सुखचैनले बस्न सकिएको छैन । एक मुठी सास रहेसम्म कसैको अगाडि हात नफैलाउन डुल्दै ‘लेमन टी’को व्यापार गरिरहेको छु ।
(प्रस्तुति : रामप्रसाद चौहान,स्रोत ईकान्तिपुर)