‘रसुवामा बाढी, बर्दियामा आँसुको भेल’
बिहिबार, असार २६, २०८२ मा प्रकाशित

बर्दिया,असार २६ / रसुवामा बाढी आउँदा बेपत्ता भएका बारबर्दिया नगरपालिका–१० फेनापति र गुमस्ता गाउँका युवा जिप्पन थारु, सन्तोष र बुद्धिराम दहित नजिकका नातेदार हुन् । तीन जना रोजगारीका लागि रसुवा स्थित एक हाइड्रोपावरमा काम गर्न गएका थिए । ३६ वर्षीय जीप्पन चौधरीको नातामा जेठान सन्तोष पर्छन् भने साला बुद्धिराम हुन् ।

तीनै जना नातेदार घर परिवार छाडेर रोजगारीका लागि १५ दिन अघि रसुवा पुगेको आफन्त बताउँछन् । जीप्पनकी श्रीमती अनिता सन्तोषकी बहिनी हुन् । बारबर्दिया नगरपालिका–९ खैरेनीका ३० वर्षिय सुरेश थारु पनि बेपत्ता भएका छन् ।

यस्तै, रसुवाको बाढीमा बढैयाताल गाउँपालिका ६ भदैहिका २४ वर्षीय लक्ष्मी नारायण थारु पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीको रेकर्डमा रसुवाको बाढीमा परेर बर्दियाका पाँच जना युवा बेपत्ता भएको देखिन्छ । पाँच जनालाई रसुवा जिल्लाको गोसाईँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीमा तिब्बतको ल्हेन्दे खोला बगाएको खुलेको छ । बाढीमा बेपत्ता भएका पाँच जना युवा २४ देखि ३७ बर्ष उमेर समूह भित्र पर्छन् । बेपत्ता चार जना बारबर्दिया नगरपालिका–१० का हुन् भने एक जना बढैयाताल गाउँपालिकाका रहेको प्रहरीको रेकर्डमा खुलेको हो ।

हामीले दुखको घडीमा बेपत्ता परिवारको घाउमा मल्हम लगाउन भेटघाट र यथाशीघ्र वास्तविक अवस्थामा पहल गरिदिन दिन पहल गरिरहेको नगर प्रमुख छबिलाल थारुले बताए । ‘नगरबासी दुखद खबरसँग रोएको छ, हामीले वास्तविक अवस्था पत्ता लगाउन भनेका छौँ,’ उनले भने । उनका अनुसार गाउँ शोकको आँशुमा डुबेका छ ।

दुखद खबरले शोकमा डुबेका घरमा जनप्रतिनिधि पुगेर सम्झाई बुझाई गरिरहेका छन् । शोकमा डुबेको गाउँका वडा अध्यक्ष रण बहादुर चौधरी सदस्यको टिमले शोक मग्न गाउँमा सम्झाई बुझाई गरेर पिडा लुकाइरहेका छन् । बेपत्ता युवाको वास्तविक अवस्था पत्ता लगाउन र शव परिवारलाई बुझाउन ढिलाई नगर्न प्रशासनलाई आग्रह गरिरहेको एक जनप्रतिनिधिले बताए । बेपत्ता युवा चार पाँच बर्ष अघि देखि काममा जाने गरेको बताईन्छ ।

बेपत्ता भएसँगै खोजी कार्य भइरहेकाले रसुवा प्रहरीसँग निरन्तर सम्पर्क भइरहेको प्रहरी उपरीक्षक केदार खनालले बताए । ‘पीडित परिवारसँग प्रहरीले सम्पर्क गरिरहेको छ,’उनले भने,‘यता,बेपत्ता युवाको खोजी कार्यमा भइरहेको बेला रसुवा प्रशासनसँग निरन्तर सम्पर्क भइरहेको छ ।’ उनका अनुसार एक प्रहरी जुनियर अधिकृत शव फेला परे पनि यहाँका युवाको खोजी कार्य भइरहेको अपडेट छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय