बर्दिया,साउन १८ / कारागारभित्र नाइके र कैदीबन्दीबीच झडप भएको छ । शुक्रबार बिहान ११ बजेतिर झडप हुँदा नाइकेसहित १० जना कैदीबन्दी घाइते भएका छन् ।
६ जना सामान्य र ४ जना कैदीबन्दीको टाउकोमा चोट लागेको बर्दिया अस्पतालले जनाएको छ । अस्पतालका अनुसार घाइते ३ जना कैदीबन्दीको टाउकोमा टाका लगाइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको बर्दिया अस्पतालका चिकित्सकले जनाएका छन् ।
के विषयमा विवाद भएको वास्तविकता बाहिरिएको छैन । कारागारका प्रमुख मानबहादुर सारु काम विशेषले बाहिर रहेका छन् ।
कारागार प्रशासनका अनुसार प्रत्येक नयाँ आर्थिक वर्षमा नाइके, सहायक नाइके र चौकीदार चयन गर्नुपर्छ । नाइके चयन अवधिभर फोन अवरुद्ध गरेको कारागारका सूचना अधिकारी रविकुमार थारुले बताए । ‘नाइके, सहायक नाइके र चौकीदार गरी ५८ जनालाई तीन दिनअघि मात्र जिम्मेवारी तोकिएको हो,’ उनले भने, ‘एक महिनाअघि कैलालीबाट स्थानान्तरण भई आएको कैदीबन्दीको टोलीले आन्तरिक प्रशासनको अनुशासन नमान्दा विवाद भएको बुझिएको छ ।’
थप अनुसन्धानका लागि ६ जना कैदीबन्दीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले लगेर गएको सूचना अधिकारी थारुले जनाए । कारागार प्रशासनका अनुसार महिला पुरुष गरी ४ सय २५ जना कैदीबन्दी छन् ।
कारागार संवेदनशील भएकोले अहिले केही बोल्न नमिल्ने जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।स्रोत ईकान्तिपुर