बर्दिया,साउन २१(फरकसमाचार) / लगातार भईरहेको वर्षातले मंगलबार बिहान देखि बबई (भादा) नदीमा पानीको सतह बढ्यो । बबई नदीको चेपाङ स्थित बाढी मापन केन्द्रले पानीको सतहले चेतावनी तह पार गर्दा नदी तटीय क्षेत्रका सर्वसाधारणमा बाढीको त्रास फैलियो । दिउँसो देखि बबई नदीको पानीको सतह क्रमशःघट्दो देखिए पनि वर्षात भईरहँदा सतर्कता अपनाउन प्रशासनले आग्रहसमेत गरिरह्यो ।
बर्खाको समयमा नदीमा पानीको सतह बढ्दा रातभरि राम्ररी निदाउँन नसक्ने गुलरिया नगरपालिका–११ का सरवन मल्लाहले बताए । ‘राति कति बेला बस्तीमा बाढी पस्ने ठेगान हुदैन,’उनले भने,‘विगतका वर्षमा यस बस्तीमा बाढी पसेर सडकको छेउमा त्रिपालमुनी बसेको अनुभव छ, नदीमा पानीको बहाव बढ्दा भादा पुल छेउको बस्तीका सर्वसाधारण राम्ररी निदाउँन सकिदैनन् ।’
बबई नदीको चेपाङ जलमापन केन्द्र हुँदै गुलरियासम्म पानी आउन करिब ४ घण्टा लाग्ने भएकोले सतर्कता अपनाउन जरुरी रहेका स्थानीयले बताएका छन् ।
बबई नदीको चेपाङ जलमापन केन्द्रले मंगलबार बिहान खतरा तह पार गरेको संकेत देखाएको थियो भने दिउँसोबाट क्रमशः घटेको देखाएको छ । घट्दो क्रममा देखिए पनि निरन्तर वर्षात भईरहेकोले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई प्रशासनले सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।
पानीको बहाब बढेसंगै नदी तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ । बाढीको समयमा नदी किनारमा काठदाउरा छोप्न, माछा मार्न नजान, डुबान हुने क्षेत्रका बासिन्दाहरु सुरक्षित रहन्, घरमा भएका महत्वपुर्ण बस्तु नगद र गरगहना जिन्सी सामान सुरक्षित ठाउँमा राख्न, अत्यावश्यक खाद्यान्न सुरक्षित राख्न र ज्येष्ठ नागरिक, बालबालिका,गर्भवती तथा सुत्केरीलाई विशेष ध्यान दिन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।