अभिनव कुमार पाठक
बर्दिया, असार २६/ गुलरिया नेपालगञ्ज बाइपास सडक लामो समय देखि जिर्ण रहेको कारण यात्रुहरूलाई सास्ती बेहोर्नु परेको छ । गुलरिया नगरपालिका–७ बराती चोक देखि गुलरिया नगरपालिका–८ भादा सम्मको बाइपास सडक ७ वर्षदेखि जीर्ण रहेको हो ।
अलिकति बर्सात हुँदा सडक हिलाम्य भई यात्रुहरूलाई हैरानी हुन्छ । जीर्ण बाइपास सडक बनाउनमा सम्बन्धित निकायले कुनै चासो नदेखाएको सर्वसाधारणले गुनासो गर्छन् । जीर्ण बाइपासमा नयाँ सवारी साधन चलाउँदा चाँडै थोत्रो भईरहेको यातायात व्यवसायीले बताउँछन् ।
बाटो हिलम्य हुँदा यात्रुहरूलाई आवत जावतमा समस्या रहेको गुलरिया नगरपालिका–८ कोठियाका एक स्थानीयले बताए । ‘हामी पनि धेरै पटक बसबाट यात्रा गरेका मानिस हौं, हामीलाइ पनि थाह छ खराव सडकमा यात्रा गर्न कति गाह्रो हुन्छ,’उनले भने,‘बसबाट यात्रा गर्दा गुलरिया–नेपालगञ्जको बाइपास सडकमा मात्रै सास्ती झेल्नुपर्छ, बाँकी सडक राम्रो भईसकेको छ ।’ २०७२ सालमा बाइपास सडक निर्धारण गरिएको गुलरिया नगरपालिका–६ का पूर्व वडाध्यक्ष निरज कुमार शर्माले बताए ।
‘२०७५ सालदेखि उक्त बाइपास सडक जिर्ण छ,’उनले भने,‘बाइपास सडक बनाउनलाई एक दुई वटा जग्गा पालिकाले किनेको पनि हो, तर सडक जीर्ण अवस्थामा छ, यस सम्बन्धमा पालिकामा स्थानीयद्वारा निवेदन पनि बुझाइएको हो ।’
पटक पटक स्थानीयहरूले सम्बन्धित निकायको ध्यान केन्द्रित गराउन विरोध प्रदर्शन गरेका थिए, तर, सम्बन्धित निकायले बेवस्ता गरिरहेको गुलारिया नगरपालिका–६ का पूर्व अध्यक्ष निरज कुमार शर्माले सुनाए ।