बर्दियामा कुष्ठरोगीको संख्या बढ्दै
बिहिबार, साउन ३०, २०८२ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, साउन २९/ बर्दियामा कुष्ठरोगीको संख्या पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा उपचाररत ५८ जनासहित आर्थिक वर्ष ०८१/०८२ मा ४४ नयाँ कुष्ठरोगी पहिचान भएका हुन् । स्वास्थ्य कार्यालयका कुष्ठरोग फोकल पर्सन जीवन रजौरेका अनुसार पछिल्लो समय यसको संक्रमण दर वृद्धि हुँदै गएको छ ।

गत वर्ष पहिचान भएका बिरामी मध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र ९ प्रतिशत बालबालिका रहेका छन् । हाल बर्दियामा हरेक १० हजार जनामा करिब एक जना कुष्ठरोगीको दर देखिएको छ ।

नेपालमा लामो समय देखि कुष्ठरोग सम्बन्धी काम गर्दै आएको गैरसरकारी संस्था ‘आइएनएफ नेपाल’ले बर्दियामा कुष्ठरोग, अपांगता र विपत व्यवस्थापनका क्षेत्रमा आगामी तीन वर्षको कार्ययोजना सार्वजनिक गरेको छ । उक्त योजना स्वास्थ्य कार्यालय र विभिन्न संघ–संस्थाको सहकार्यमा बजेटसहित कार्यान्वयन हुने जनाइएको छ ।

अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बर्दियामा बालविवाह, मातृ मृत्युदर, घरेलु हिंसाका घटना र कुष्ठरोगको दर उच्च रहेको भन्दै चिन्ता व्यक्त गरे । सामाजिक बिकृति र कुरीति विरुद्ध शून्य बजेटमै प्रभावकारी काम गर्न सकिने उल्लेख गर्दै उनले महिला स्वास्थ्य स्वयंसेविका, विद्यार्थी, बड्घर, सामुदायिक वन, सहकारी जस्ता स्थानीय सञ्जालमार्फत सचेतना अभियान चलाउनु पर्नेमा प्रजिअ पौडेलले जोड दिए ।

साइनिङ अस्पताल बाँकेका प्रमुख मंगल बहादुर थारुले आइएनएफ नेपाल र स्वास्थ्य कार्यालय बर्दियाको साझेदारीमा सञ्चालन हुने कार्यक्रम बारे जानकारी दिए । नेपाल सरकारले सन् २०३० भित्र कुष्ठरोग शून्यमा झार्ने लक्ष्यसहित अभियानलाई तीव्र बनाउँदै आएको बताइएको छ । फोकल पर्सन रजौरेका अनुसार विद्यालय र समुदाय स्तरमा सचेतना कार्यक्रम र स्क्रिनिङ शिविर सञ्चालन गरिनेछ ।

स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले प्रायः मधेशी,जनजाति समुदायमा कुष्ठरोग बढी देखिने, पछिल्लो समय सेवामा कमीका कारण संक्रमण दर बढेको र उपचार तथा स्वास्थ्य बीमा सुविधा निःशुल्क रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय