दलबहादुर सुनार
बर्दिया, साउन २९/ इलाका प्रहरी कार्यालय मैनापोखरमा पछिल्लो समयमा विभिन्न प्रकृतिका १ सय ३७ मुद्दा दर्ता भई २ सय ६ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा फरार प्रतिवादी, लागु औषध, सवारी दुर्घटनामा संलग्न चालक, बन पैदावार लगाएतका घटनामा संलग्न ४ महिला र २ सय २ पुरुष गरि २ सय ६ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक राजेश साहुका अनुसार भन्सार छली गरी चोरी–निकासी भएका मालसामान बरामद गरी ४५ लाख ३० हजार ९ सय १२ रुपैयाँ राजस्व संकलन गरिएको छ । त्यस्तै अवैध वन पैदावार ओसार पसारका क्रममा अन्दाजी रु १८ लाख बराबरको काठ नियन्त्रणमा लिई डिभिजन वन कार्यालयमा बुझाइएको जनाईएको छ ।
लागु औषध सम्बन्धी मात्र ७५ मुद्दा इलाका प्रहरी कार्यालय मैनापोखरमा दर्ता भएका छन् । यस अन्तर्गत १ सय १८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर, २ किलो १ सय ७ ग्राम ८ सय मिलिग्राम चरेश र १६ किलो ६ सय ५४ ग्राम गाँजा बरामद गरिएको इप्रका मैनापोखरले जनाएको छ । सो सम्बन्धी मुद्दामा १ सय ४४ जना प्रतिवादी रहेका छन् ।
फैसला कार्यान्वयनका क्रममा ६८ जना फरार प्रतिवादी मध्ये ४५ जना पक्राउ परेका छन् । उनीहरूबाट २ लाख २ हजार १ सय ६७ रुपैयाँ जरिवाना असुल गरिएको र ४२ वर्ष ११ महिना १ दिन कैद सजाय तोकिएको प्रहरीले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पन्नालाल खटिकलाई १८ वर्षपछि पक्राउ गरी कारागार बर्दिया पठाइएको छ । सोही क्रममा, २०६७ साल फागुन १४ गतेदेखि फरार रहेका अभियुक्तलाई १५ वर्षपछि पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध नियन्त्रण, साइबर ठगी रोकथाम लगायत विभिन्न विषयमा करिब सय वटा कार्यक्रम सञ्चालन गरी करिब चार हजार जना लाभान्वित भएको प्रहरी निरीक्षक साहुले जानकारी दिए ।