बर्दिया,भदौ २(फरकसमाचार) / जिल्ला प्रशासन कार्यालय अगाडि आइतबार दिउँसो पुर्वबाट एकाएक चितुवाबाट त्रसित मान्छेहरुको ठुलो हुल आयो । मान्छेहरुको त्यो हुल हिंस्रक चितुवा नियन्त्रणको माग गर्दै प्रशासन अगाडि पुगेको थियो । यसैबिच देखिएको रिदय बिदारक दृश्य,जसमा १३ बर्सिय सुदिप थारु भक्कानिरहेका थिए । अनुहार आँशुका धाराले रेखा कोरेको थियो भने शोकले ल्याएको निराशा अनुहारमा देखिरहेको थियो ।
गत शुक्रबार चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–१२ की ४५ वर्षिया जगतरानी थारुको मृत्यु भएको थियो । भेटिएको शब पनि क्षतबिक्षत थियो । समस्याग्रस्त चितुवा नियन्त्रणको माग गर्दै आक्रोसित स्थानीयको भिडले प्रशासन अगाडि दबाब स्वरुप प्रदर्शन गरिरहेको थियो । त्यहि भिडमा मृतकका कान्छा छोरा १३ वर्षिय सुदिप थारु भक्कानिदै गरेको हृदय विदारक दृश्य देखियो ।
त्यो हृदय विदारक दृश्यले जो कोहीको आँसु थामिएको थिएन । कलिलो उमेरमा आमा गुमाएका सुदिपको आँखा एकछिन पनि ओभानो देखिएन । आमालाई सम्झिदै उनी भक्कानिरहेका थिए । उनलाई आफन्तले अंगालो मार्दै सम्हाल्न प्रयास गरिरहेका थिए । मृतकका आफन्तले आइतबार दिउँसो भर जिल्ला प्रशासन अगाडि रोए, कराए र अन्तमा केही उपाय नलागेर घर फर्किए ।
सरकारले जनताको जिउ ज्यानको सुरक्षाको कुनै आभास नगराएको गुलरिया नगरपालिका–१२ भैंसाहीका छेदुलाल थारुले बताए । ‘वन्यजन्तुले मान्छेलाई खाए केही हुदैन,’उनले भने,‘तर,मान्छेले वन्यजन्तुलाई मारे कडा सजाय हुने व्यवस्था कहाँसम्मको जयाय हो ।’
राज्यले हामीमाथि अन्याय गरिरहेको प्रदर्शनका अर्का सहभागी राम गोपाल थारुले बताए । ‘वन्यजन्तुले जनतालाई खाए पनि वास्ता गरेको छैन,’उनले भने,‘जब मानविय क्षति हुन्छ,देखावटी रुपमा दुई चार दिन नियन्त्रणको कदम चालेपनि ठोस कदम चालेको देखिदैन ।’ सरकारले वन्यजन्तु र मानव बिचको बढ्दो द्वन्द्वलाई न्युनिकरण गर्न ठोस कदम चाल्नुपर्ने उनले माग गरे ।
गत शुक्रबार साँझ खेतमा धान गोड्न गएको बेला चितुवाले बेपत्ता बनाएको थारुको शव शनिबार बिहान उखुबारीमा क्षतविक्षत अवस्थामा फेला परेको थियो । जबसम्म समस्याग्रस्ता चितुवा नियन्त्रण हुदैन,तबसम्म शव नउठाउने मृतक परिवारले अडान लिएको छ । मृतक थारुको शव बर्दिया अस्पतालमा राखिएको छ ।
उक्त चितुवालाई सम्बन्धित निकायले तत्काल नियन्त्रण लिनु पर्ने सात बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको गुलरिया नगरपालिका–१२ का वडा अध्यक्ष रामकुमार थारुले बताए ।