साउन यता ५१४ जनाको निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया
सोमबार, भदौ २३, २०८२ मा प्रकाशित

बर्दिया,भदौ २३ / साउनयता ५ सय १४ जनाको निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया भएको छ । चालु आर्थिक वर्षको साउन देखि आइतबारसम्म ५ सय १४ जनाको शिवगंगा आँखा अस्पतालमा निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया भएको हो ।

आइतबार बिहान खुसी हुँदै राजापुर नगरपालिका–४ संघर्ष नगर सुकुम्बासी बस्तीका ६० वर्षीय लाल बहादुर थारु घर फर्किदै थिए । विगत तीन वर्ष देखि बिग्रेका दुवै आँखा निःशुल्कमा बनेपछि औधी खुसी भएको उनले बताए । ‘हाम्रो आर्थिक स्थिती नाजुक छ, राजापुर देखि शनिबार गुलरिया मोतिया बिन्दुको शल्यक्रिया गराउन आएका थियौं,हाम्रो आत्मबल बढाउन शनिबार राजापुर नपा ४ का जनप्रतिनिधि अस्पतालमा आएका थिए ।’ ‘गत मंगलबार दायाँ र शनिबार बायाँ आँखाको मोतिया बिन्दुको शल्यक्रिया गराएको छु,’उनले भने ।

अतिविपन्न सुकुम्बासी बस्तीका ४५ जना वडावासीले मोतिया बिन्दुको शल्यक्रिया गराउन आउँदा उहाँहरुको अवस्था हेरेर हौसला र सहानुभूतिको लागि अस्पतालसम्म आएको राजापुर नगरपालिका–४ का वडा अध्यक्ष बिदुर पोखरेलले बताए । ‘वडाको सक्रियतामा गत मंगलबार ३५ जना वडावासीको मोतिया बिन्दुको शल्यक्रिया भएको थियो,’वडा अध्यक्ष पोखरेलले भने,‘छुटेकाहरु फेरि शल्यक्रिया गराएका छन् ।’ ‘उहाँहरुको आर्थिक स्थिती अत्यन्तै कमजोर भएकोले वडाको तर्फबाट खानाको व्यवस्था गरेका छौं,’उनले भने ।

रुइत फाउन्डेसनको सहयोग र नेपाल रेडक्रस सोसाइटी शिवगंगा आखा अस्पतालको समन्वय तथा प्राविधिक सहयोगमा संचालन भएको निःशुल्क शिविर आगामी पुससम्म चल्ने शिवगंगा आँखा अस्पतालका म्यानेजर हरि केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर