बर्दिया,भदौ २३/ भारतबाट हुने केरा आयात बन्दको माग गर्दै केरा व्यवसाय संघले जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । ६ बुँदे मागसहित केरा व्यवसाय संघले आइतबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो । संघका अध्यक्ष टोप लाल विकसहित केरा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल गुरुङ्गलाई ज्ञापन पत्र बुझाएका छन् ।
जिल्लामा व्यवसायीक केरा खेती फस्टाउँदै गएको केरा व्यवसाय संघ बर्दियाका अध्यक्ष विकले बताए । ‘विगत १४ वर्ष देखि व्यवसायीक केरा खेतीको क्षेत्र विस्तार हुँदै हाल ५ सय हेक्टर पुगेको छ,’अध्यक्ष विकले भने,‘जिल्लामा वार्षिक १५ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ र ७ सय घरपरिवार केरा खेतीमा संलग्न रहेका छन् ।’ ‘मलको अभाव, मँहगो श्रम र ढुवानी भाडाले गर्दा केरा मँहगोमा उत्पादन हुन्छ । तर, भारतबाट आउने सस्तो केरासंग हामी नेपाली केरा व्यवसायीले प्रतिस्पर्धा गर्न सम्भव छैन । जसले गर्दा भारतबाट आयात हुने केरामा रोक लगाउनुपर्ने मागसहित प्रशासन आएका छौं,’उनले भने ।
केरा व्यवसाय संघका अनुसार गुलरियामा ८०, राजापुर नगरपालिकामा १५ प्रतिशत र अन्य पालिकामा ५ प्रतिशत व्यवसायीक केरा खेती भईरहेको छ । केरा खेतीको विस्तारसंगै उत्पादन बढेपनि बजारीकरणको व्यवस्थापन नहुँदा र भारतबाट सस्तोमा केरा आयात हुँदा केरा बिक्रीमा कठिनाई भईरहेको केरा व्यवसायीहरुको गुनासो छ ।
भारतबाट आयात हुने केरा कम्तिमा मंसिरसम्म पुर्ण बन्द गर्न, प्लान्ट क्वारेन्टाइन तथा भन्सार नीतिमा कडाइ गर्न, नेपाली केरा उत्पादक कृषकहरुको संरक्षण गर्नलगायतका ६ बुँदे मागसहित प्रशासनलाई ज्ञापन पत्र बुझाईएको छ ।

