बर्दिया,भदौ २४(फरकसमाचार)/ लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट आइतबार र सोमबार लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थितबाट बाँसगढी नगरपालिका–५ का २९ वर्षीय राजु थारु र बाँके राप्तिसोनारी गाउँपालिका–९ ढकेरीका २९ वर्षीय अनिल थारुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनीहरु साथबाट प्रहरीले ७ सय ३० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारेको छ ।
सोही दिन बाँसगढी नगरपालिका–८ स्थितबाट देश भारत लालजी सहोनी बहराईच उत्तर प्रदेशका २८ वर्षीय पंकज कुमार चौधरी र भोन्दु सहोनी बलाईगाउँका २४ वर्षीय निर्मल चौधरीलाई प्रहरीले ९ ग्राम ४० मिलिग्राम लागू ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यस्तै सोमबार बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट वडा नंम्बर ५ फुलबारी २३ वर्षीय अनिल विकलाई ८ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । पाँचै जनालाई नियन्त्रणमा लिई सोमबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

