अभिनव कुमार पाठक, बर्दिया,भदौ २९ / पीडित परिवारले पाँच बुँदे माग अघि सारेका छन् । चितुवाको आक्रमणबाट मृत्यु भएकी महिलाको परिवारले पाँच बुँदे माग अघि सारेका हुन् । गुलरिया नगरपालिका–१२ टडुवाकी २७ वर्षीय कबिता रानाको आइतबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । गुलरिया नगरपालिका–१२ स्थित नेपाल केदुवाई सामुदायिक वनमा घाँस काट्न गएको बेला बिहान १० बजेको समयमा चितुवाको आक्रमणमा परि रानाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जनाए ।
महिलाको शव बर्दिया अस्पतालमा राखिएको छ । पीडित परिवारले हिंस्रक चितुवालाई तत्काल नियन्त्रण लिन, छेकबार लगाउनलगायतका पाँच बँुदे माग अघि सारेको गुलरिया नगरपालिका –१२ का वडाध्यक्ष रामकुमार थारुले बताए । माग पुरा नभएसम्म शव नबुझ्ने पीडित परिवारले अडान लिएको वडाध्यक्ष थारुले जनाए ।
उक्त चितुवालाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली परिचालन भईसकेको जिल्ला प्रशासनले जनाएको छ ।
गत साउन ३० गते गुलरिया नगरपालिका –१२ भैंसाहीकी ४२ वर्षीया जगतरानी थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । खेतमा धान गोडिरहेको बेला थारुलाई चितुवाले आक्रमण गरि एक सय मिटर उखुबारीमा लगेर खाएको थियो । उक्त क्षेत्रमा चितुवा पटक पटक देखिए पनि सम्बन्धित निकायले नियन्त्रण लिन नसकेको स्थानीयको भनाई छ ।
सोमबार, भदौ ३०, २०८२
मा प्रकाशित
1682
Shares
ताजा समाचार
लोकप्रिय
© 2026, All rights reserved to Farak Samachar // Website By Lumbini Host

